कुलतको दुश्परिणाम :
विराटनगर । पारिवारिक रुपमा खेपिरहेको यातनाविरुद्ध मुख खोल्न नसक्दा भोजपुरमा सिंगो परिवार निमिट्यान्न बन्ने गरी हिंसात्मक घटनाको शिकार हुनुपरेको छ । छोरीले भोगिरेहेको यातनाविरुद्ध मौनता साँधिरहेको परिवार अन्ततः आफै नामेट हुने गरी हिंसाको चपेटामा परेको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा आइतबार बिहानको राती जे घटना भयो, त्यसले स्थानीयवासीको भोक निद्रा खोसेको छ ।
स्थानीय ६८ वर्षीय बेलबहादुर गिरीको घरमा रहेका ४ जनामध्ये सबैको ज्वाइँ राजेन्द्र राईले हत्या गरेपछि सिंगो गाउँ आतंकको छायाँमा छ ।
‘आज बिहानै हामी घटनास्थलमा पुग्दा कुखुरा बाख्रा घरमा कराइरहेका थिए, परिवारका सदस्यहरूको लाश घरभरि लडेको अवस्थामा थियो’ वडा सदस्य प्रभा राई तामाङले भनिन् ‘बुवा र छोरीको शव अंगालो हालेको अवस्थामा थियो । सानो छोरा ढोकामै लडेको थियो, अनि श्रीमतीको शव केही पर थियो ।’
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले ससुराली पुगेर सासू–ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् । घटनामा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनीषा गिरी र मनीषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ ।
ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनीषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ । राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैले प्रहरीलाई फोन गरेका थिए ।
‘उनले मैले मान्छे मारें, मलाई लिन आउनू भनेर हाम्रो कन्ट्रोलमा फोन गरेछन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई अहिले उपचारका लागि धरान पठाइएको र चारै जना मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको वडा सदस्य प्रभाले जानकारी दिइन् ।
स्थानीयवासीसँगको कुराकानीका आधारमा प्रहरीले यो हत्याकाण्डको जड अनमेल विवाह र पारीवारिक यातनाले निम्त्याएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
‘ज्वाइँ राजेन्द्र पहिल्यै विवाहित रहेछन्, उनले गिरीकी नाबालिग छोरीलाई विवाहका लागि प्रस्ताव गरेका रहेछन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने ‘तर, उमेर नपुगेकी छोरीको विवाह नगर्ने परिवारको अडानले विवाह भएनछ ।’
पहिलो विवाह छुटिसकेपछि मनीषालाई पाउन राजेन्द्रले प्रेम विवाह गरेका थिए । विवाहका लागि पारिवारिक अनुमति नपाएपछि राजेन्द्र र मनीषाले गएको असोजमा भागेर बिहे गरेका थिए ।
आफूभन्दा दोब्बर उमेरको पुरूषसँग विवाह गरेर गएकी मनीषाले पतिबाट निरन्तर यातना पाउन थालेको स्थानीयवासीलाई उद्धृत गर्दै वडा सदस्य प्रभाले जानकारी दिइन् ।
‘लागुपदार्थजन्य ट्याब्लेट र गाँजाको कुलतमा राजेन्द्र रहेछ’ प्रभाले भनिन् ‘यसरी निरन्तर यातना पाउन थालेपछि मनीषा पतिको घर छाडेर आफ्नै घरमा बस्न थालेकी रहिछन् ।’
मनीषाका बुबा, आमा र सानो भाइमात्रै घरमा बसेका थिए । चार छोरी र दुई छोराका माता पिता बेलबहादुर र मञ्जुका तीन छोरी र एक छोरा काठमाडौं बसिरहेका थिए । घटनापछि उनीहरू भोजपुर आउँदैछन् ।
श्रीमतीलाई घर लैजान भन्दै १५ दिनअघि ससुराली पुगेका राजेन्द्र मनीषालाई फकाउने र धम्क्याउने गरिरहेको छिमेकीले बताएका छन् ।
‘मसँग तिमी नजाने भए तिम्रो परिवारै सखाप पारिदिन्छु भन्दै राजेन्द्रले श्रीमतीलाई धम्क्याउँदो रहेछ’ वडा सदस्य प्रभाले भनिन् ‘गाउँलेहरू त्यसो भन्नु हुँदैन, मिलेर कुरा गर्नुपर्छ भन्दै सम्झाउँदा रहेछन् ।’
यद्यपि १६ वर्षे मनीषा भने पतिसँग जान मानिरहेकी थिइनन् । पतिले लागुऔषध सेवन गर्ने र कुटपिट गर्ने गरेको भन्दै उनी आफू नजाने बताइरहेकी थिइन् । छोरीको अनिच्छा र असुरक्षा भावका बाबजुद गिरी परिवारले ज्वाइँलाई १५ दिनदेखि घरैमा बस्न दिइरहेको थियो ।
छोरी आफैले रोजेर बिहे गरेको र केही समयमा मिलेर गरिखालान् भन्ने आशमा आमाबुबा रहेको छिमेकीले बताएका छन् । छोरी–ज्वाइँ मिल्ने घडीको प्रतीक्षामा रहेका अभिभावकले आफ्ना दुई सन्तानसहित आफ्नो पनि ज्यान ज्वाइँकै हातबाट गुमाएका छन् ।
ज्वाइँले छोरीलाई दिएको लगातारको मानसिक र शारीरिक यातनाबारे बेलबहादुरको परिवार र मनीषा स्वयमले कहीँ कतै नभनेका कारण प्रहरी र आफूहरू यसबारे बेखबर रहेको प्रभाले सुनाइन् ।
‘गाँजा, ट्याब्लेट खाएर दिनरात कुटपिट गर्दा पनि मनीषाले प्रहरी वा जनप्रतिनिधिलाई भनेको भए उसलाई नियन्त्रणमा लिने केही उपाय लाग्न सक्थ्यो होला’ उनले भनिन् ‘तर, कसैले केही भनेनन् । छिमेकीले पनि घर झगडा भनेर खासै वास्ता गरेनछन् । अहिले यस्तो अवस्था आएपछि सबैलाई पछुतो भइरहेको छ । परिवारभित्र यदि यातना भइरहेको छ भने कम्तीमा बोल्नुपर्छ, भन्नुपर्छ, त्यसले एउटा निकास दिन्छ ।’
श्रीमतीसहित ससुराली परिवारका थप तीन जनाको हत्या गरेपछि प्रहरीलाई आफैले खबर गरेका राजेन्द्रले सासूले आफूमाथि छुरी प्रहार गरेको आरोप लगाएका छन् ।
‘तर, उसले आत्महत्या प्रयास गर्दा आफैलाई हानेको भन्ने यहाँ उपस्थित प्रहरी र गाउँलेको कुरा छ’ जनप्रतिनिधि प्रभाले भनिन् ‘अरू कुरा अनुसन्धानपछि खुल्दै जाला । तर, यातना सहेर बसिरहने छोरीको कमजोरी र अभिभावकको बेवास्ताले यस्तो वीभत्स घटना भयो । अहिले सिंगो गाउँ आतंकको छायाँमा देखिन्छ ।’
हत्याकाण्डका अभियुक्त राजेन्द्र भोजपुर सदरमुकाम क्षेत्रमा ज्याला मजदुरी गरेर बस्ने गरेको र उनले आफूले गरेको दुबै विवाहको दर्ता नगरेको भोजपुर नगरपालिका–२ का वडाध्यक्ष प्रसाद तामाङले जानकारी दिए ।
‘हामीले पनि दुइटा विवाह भन्ने भर्खर थाहा पाएका हौं’ उनले भने, ‘अहिले बुझ्दा उनले दुबै विवाह दर्ता नगरेको पाइएको छ ।’
उनले दोस्रो बिहे नाबालिकासँग गरेको कारण दर्ता हुने सम्भावना नभएको बताए । उनको परिवारमा आमा, तीन दाजुभाइ र एक दिदी रहेको अध्यक्ष तामाङले जानकारी दिए ।
View : 318
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved