Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा सशस्त्र प्रहरीको बोट कोशीमा पल्टिंदा ६ पत्रकारसहित १३ जना घाइते

उद्घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

विराटनगर, १७ कात्तिक : सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीले आयोजना गरेको विपद् उद्दार अभ्यासकै क्रममा ६ जना पत्रकारहरुसहित १३ जना सवार सशस्त्र प्रहरीको मोटरबोट दुर्घटना भएको छ ।

बोट डुब्दा रेडियो नेपालका कुमोद अधिकारी, अन्नपूर्ण पोष्टका जितेन्द्र ठाकुर, कान्तिपुर टेलिभिजनका महाप्रसाद खतिवडा, क्यामेराम्यान शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह र सुनसरीका पत्रकार खेमराज सापकोटा नदीमा डुबेका हुन् । बोट पल्टिएर डुबेका उनीहरुको तत्कालै उद्दार गरिएको जनाइएको छ ।

उद्दार अभ्यासको रिपोर्टिङका लागि पुगेका पत्रकारहरु चढेको बोट चतरा पुल मुनी कोसी नदीमा पल्टिएर दुर्घटना हुँदा भाग्यले बाँच्न त सफल भए, तर उनीहरुका मोबाइल र क्यामेर लगायतका सञ्चार उपकरणहरु पानी डुबेर बिग्रिए ।

सशस्त्र प्रहरी बलले नियमित रुपमा उद्दार अभ्यास गर्दै आएकोमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समेत सहभागी हुने भएपछि त्यसको अवलोकन र रिपोर्टिङका लागि विराटनगरबाट समेत पत्रकारहरु पुगेका थिए । 

डुबेका मध्ये पत्रकार अधिकारीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ । उनको फोक्सोमा पानी पुगेपनि खतरामुक्त रहेको जनाइएको छ । एक दुई दिन निगरानीमा राखेर उपचार गरिने जनाइएको छ । 

डुबेका केही सर्वसाधारणलाई भने तत्कालै उपचारका लागि उदयपुरको बेलका नगर अस्पताल रामपुर पठाइएको र उनीहरु पनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

उद्दार अभ्यासका क्रममा डुंगाको अघिल्लो भाग अचानक पानीतिर झुकेर डुबेको त्यहाँ उपस्थित प्रत्यक्षदर्शी संचारकर्मीले जानकारी दिए । 

डुंगा डुब्न थालेपछि अन्य आगन्तुक र केही पत्रकारहरुले अभ्यास नै भएको हुनसक्ने अनुमान लगाएका थिए । तर केहिबेरपछि मात्रै उनीहरु चढेको डुंगा साँच्चै पल्टिएको थाहा पाएर उद्दारका लागि कराएका थिए ।

बोटमा चढेका केहीले लाइफज्याकेट समेत नलगाएका कारण सशस्त्र प्रहरीले लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन् । पानीमा हुने विपद्को उद्दारकै लागि ठुलो संख्यामा उद्दारकर्मीहरु त्यहाँ परिचालन भएका कारणमात्रै मानवीय क्षति हुनबाट जोगिएको उनीहरुले दाबी गरे ।

View : 121

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved