Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश कमिटीले छानबिन गरिरहेको बेला जिल्लाका पाँच पदाधिकारीले गरे सागर थापामाथिको कारवाही अनुमोदन

प्रदेशको छानबिन कमिटीले प्रतिवेदन बुझाउने मिति नजिकै आउँदा प्रदेश  कमिटीका अध्यक्ष घनश्याम खतिवडा र केन्द्रीय सदस्य जीवन घिमिरेसहितको पदाधिकारी बैठकले तीन जनाको कारवाही अनुमोदन गरेको हो ।
उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

विराटनगर । नेकपा एमाले मोरङको पदाधिकारी बैठकले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापामाथि गरेको कारवाहीलाई शनिबार अनुमोदन गरेको छ । जिल्ला संगठन समितिका अध्यक्ष बाबुराम कार्कीले पदको सपथ नलिदै थापामाथि कारवाही घोषणा गरेको भन्दै मोरङ एमालेमा विवाद भने कायमै छ ।

जिल्लाले गरेको कारवाहीबारे प्रदेश कमिटीले छानबिन पनि गरिरहेको छ । प्रदेशले गरेको छानबिन प्रतिवेदन नदिंदै जिल्ला कमिटीका पदाधिकारीहरूको बैठकले थापासहित तीन जनामाथि गरेको कारवाही अनुमोदन गरेको हो ।

विराटनगरस्थित मानगढ खानेपानीको निर्वाचनमा पार्टीको निर्णयविपरीत लालमणि भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाएको र आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई हराउन भूमिका खेलेको आरोप थापामाथि लगाइएको छ ।

महानगर अध्यक्ष थापा, उपसचिव नवराज नेपाल र विराटनगर ३ नम्बर वडा कमिटी अध्यक्षसमेत रहेका खानेपानीका उम्मेदवार भट्टराईलाई मोरङ एमालेले जेठ ३१ मा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

लगत्तै एमाले महानगर कमिटीका बहुमत वडा कमिटी अध्यक्षहरूले उनीहरूमाथिको कारवाही आधारहीन र पूर्वाग्रही भएको भन्दै निर्णय सच्याउन ज्ञापन बुझाएका थिए । अहिले प्रदेश कमिटी सचिव राजकुमार भण्डारीको नेतृत्वमा छानबिन समिति बनेको छ । सो कमिटीले छानबिन चलिरहेको जनाएको छ । 

प्रदेशको छानबिन कमिटीले प्रतिवेदन बुझाउने मिति नजिकै आउँदा प्रदेश  कमिटीका अध्यक्ष घनश्याम खतिवडा र केन्द्रीय सदस्य जीवन घिमिरेसहितको पदाधिकारी बैठकले तीन जनाको कारवाही अनुमोदन गरेको हो ।

शनिबारको बैठकमा जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्की, उपाध्यक्ष शान्ति लिम्बू, सचिव रविन थापा, उपसचिवद्वय सन्तोष साह र सोमराज थापा उपस्थित थिए ।

केन्द्रीय सदस्य घिमिरे पार्टीका संखुवासभा इन्चार्ज हुन् । तर, उनी मोरङ जिल्लाको बैठकमा सहभागी थिए । मोरङ नै कार्यक्षेत्र भएका अर्का केन्द्रीय सदस्य रामलाल साहलाई भने बैठकबारे जानकारी नै नदिइएको एमालेका एक नेताले बताए । 

‘अवैध समितिले गरेको कारवाही अनुमोदन भएको छ’, थापा निकट महानगर कमिटीका एक नेताले भने ‘पदको सपथ नलिंदै गरेको कारवाहीलाई हतारमा पदाधिकारीको बैठकबाट मात्रै अनुमोदन गर्ने औपचारिकताले नै यो पूर्वाग्रहप्रेरित निर्णय हो भन्ने प्रमाणित हुन्छ ।’

View : 319

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved