Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

१४ लाख लुटपाट भएको घटना अझै शंकास्पद

उनले रकम निकालेर कम्पनीको अफिसमा रहेको नीलो रङको कुर्सीमा राखेर नोट गन्न औंला चिसो पार्नका लागि राखिएको फम राखेको डब्बा निकाल्न दराज खोल्दा कालो ब्याग टिपेर एक व्यक्ति कार्यालय बाहिर निस्किएपछि पिछा गरेका म्यानेजर कर्णले आफूले लगाएको चप्पल प्रहार गरेका थिए ।
उद्‌घोष सम्वाददाता
७ साउन २०८१, सोमवार

रकम लुटपाट भएको समाचारहरु सार्वजनिक भएपछि आफैं चासो लिएर पुगेको प्रहरी घटनाको अनुसन्धान गर्दै । तस्वीर: उद्घोष

विराटनगर । उद्योगमा मजदुर आपूर्ति तथा निर्माण व्यवसायको काम गर्ने विराटनगरको एक कार्यालयबाट आइतबार अपरान्ह १४ लाख ४७ हजार रुपैयाँ लुटिएको दावी गरिएको छ । पीडित पक्षले लुटिएको घटनाको जानकारी प्रहरीलाई भन्दा पनि सञ्चार माध्यमलाई पहिले दिएपछि यसलाई सुरक्षा निकायले शंकाको रुपमा हेरेको छ ।

विराटनगर–३ मोडर्न एरा स्कुल नजिकै रहेको पाथीभरा जब प्लेसमेन्ट तथा खडकदेवी निर्माण सेवा प्रालिको कार्यालयबाट आइतबार अपरान्ह सो रकम लुटिएको दावी गरिएको छ । कम्पनीका सञ्चालक विवेक कर्णले लुटिएको रकमबारे प्रहरीलाई सूचना दिनु भन्दा पनि सञ्चार माध्यममा पहिले सार्वजनिक गरेको बताइएको छ । प्रहरीले पनि सञ्चार माध्यमबाटै सो कुरा थाहा भएको जनाएको थियो ।

रकम चोरिएकोबारे प्रहरीमा जानकारी नगराएको र मिडियामा घटना सार्वजनिक भएपछि आफैंले चासो राखेर सोधिखोजी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले आइतबार बेलुका जानकारी दिएका थिए । 

प्रहरीले मोडर्न एरा स्कुलको सीसीटीभी क्यामेराको रेकर्ड हेरेर चोरीमा संलग्न भनिएका शंकास्पद केही व्यक्तिहरुको हुलिया भने लिएको बताइएको छ । 

‘रकम लुटिएको भनिएको छ, हामीले पनि मिडियाबाटै थाहा पाएको हो, मैले आफैंले फोन गरेर सोधिखोजी गरेपछि रकम लुटिएको भनिएका व्यक्ति सम्पर्कमा आएका हुन्’ प्रवक्ता बस्नेतले भने, ‘अहिले अनुसन्धानको काम भइरहेको छ, बैंकदेखि रकम लुटपाट भएको ठाउँसम्मको सीसीटीभी फुटेज हेर्नका लागि टोली परिचालन गरिएको छ ।’ 

रकम लुटपाटमा संलग्न ब्यक्ति हेलमेट लगाएर पल्सर मोटरसाइकलमा दुई जना आएको सीसीटीभी क्यामेराको रेकर्डबाट अनुमान गरिएको छ । कम्पनीको म्यानेजर रहेका कर्णका भाञ्जे ज्वाइँ अमरेश कर्णले एभरेष्ट बैंकको कञ्चनबारी शाखाबाट निकालेर ल्याएको कर्णले जानकारी दिए । 

उनले रकम निकालेर कम्पनीको अफिसमा रहेको नीलो रङको कुर्सीमा राखेर नोट गन्न औंला चिसो पार्नका लागि राखिएको फम राखेको डब्बा निकाल्न दराज खोल्दा कालो ब्याग टिपेर एक व्यक्ति कार्यालय बाहिर निस्किएपछि पिछा गरेका म्यानेजर कर्णले आफूले लगाएको चप्पल प्रहार गरेका थिए ।

‘मोटरसाइकल घुमाएर राखिएको रहेछ, ज्वाईंले चप्पलले हिर्काउनु भएछ, भुईंमा भएको ढुंगाले हानेको भए ब्याग छाडेर भाग्थ्यो होला’ कर्णले भने । 

आफूलाई प्रहरीले सुरक्षाकर्मीलाई जानकारी नदिई सञ्चार माध्यममा सार्वजनिक गरेको बारे प्रश्न गरेको पनि उनले बताए । नजिक सम्बन्ध रहेका दुई जना सञ्चारकर्मीलाई आफूले पहिलो जानकारी दिएको र उनीहरुबाटै खबर सार्वजनिक भएको कर्णको भनाइ छ ।

अमरेशले दिउँसो १ बजेतिर एभरेष्ट बैंकको कञ्चनबारी शाखाबाट दुई वटा चेक साटेर नगद ल्याएको दाबी गरिएको छ । कर्णले आफ्नै घर पछाडिको टहरोमा पाथीभरा जब प्लेसमेन्ट कम्पनीसहित खडकदेवी निर्माण सेवा प्रालिको कार्यालय सञ्चालन गर्दै आएका छन् । 

कर्णका छिमेकीले यतिका रकम चोरी हुनु र देख्ने मान्छेले पनि होहल्ला नगरेकाले तत्काल खबर नपाइएको बताएका छन् । 

‘मेरो कसैसँग दुस्मनी छैन, रकमबारे कसैले नपाएको गुनासो पनि गरेका छैनन्, कसले यसरी पैसा लुट्यो अनुमान लगाउन सकेको छैन’ कर्णले भने ।

View : 178

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved