Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मिडिया मिसनद्वारा सरकारलाई सुझाव ‘मेयर साम्पाङ विरुद्ध थप छानविन गर’

मेयर साम्पाङ र तिनका समर्थकले दिने धम्कीका कारण स्वतन्त्र पत्रकारिता गर्न असहज वातावरण रहेको मिसनको निष्कर्ष छ । मेयर साम्पाङले सीमित मानिस प्रयोग गरेर पत्रकार र उनका समर्थकविरुद्ध आतंक सृजना गराउँदै आएका छन् ।
उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । धरानका मेयर हर्कराज राई (साम्पाङ) का गतिविधि छानविन गर्न नेपाल पत्रकार महासंघद्वारा गठित मिडिया मिसनले सुझाव दिएको छ । मिसनको सुझाव महासंघले सरकारलाई बुझाउने भएको छ ।

मिसनले एक साता लगाएर स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदनले मेयर साम्पाङका गतिविधि सामाजिक दुरी बढाउने खालका भएको निष्कर्ष निकालेको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै मिसनले अध्ययन गरेको प्रतिवेदन सञ्चार मन्त्री र गृहमन्त्रीलाई बुझाउने जानकारी दिने जनाएको छ ।

मेयर साम्पाङ र तिनका समर्थकले दिने धम्कीका कारण स्वतन्त्र पत्रकारिता गर्न असहज वातावरण रहेको मिसनको निष्कर्ष छ । मेयर साम्पाङले सीमित मानिस प्रयोग गरेर पत्रकार र उनका समर्थकविरुद्ध आतंक सृजना गराउँदै आएका छन् ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा मिसनले तयार पारेको प्रतिवेदन मन्त्रीद्वयलाई हस्तान्तरण गरिने जनाइएको छ ।

महासंघले सोमबार मिसनले दिएको सुझाव बारे प्रधानमन्त्रीलाई समेत जानकारी दिने भएको छ । 

सोमबार बिहान बालुवाटारमा पत्रकार महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिसनको सुझाव र निष्कर्षबारे जानकारी दिने अध्यक्ष निर्मला शर्माले जानकारी दिएकी छन् । प्रधानमन्त्री मार्फत धरानमा पत्रकारिता गर्ने वातावरण सहज बन्नेमा महासंघ आशावादी देखिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा बनेको मिसनले सामाजिक सञ्जालको दुरुपयोग गरी पत्रकारलाई ज्यान मार्नेसम्मका धम्की दिने र दिन लगाउने मेयर राईलाई कारवाही हुनुपर्ने सुझाव दिएको छ । 

मेयर साम्पाङले आफ्नो आलोचना गर्ने, बेथितिबारे समाचार लेख्नरूलाई गाली बेइजती गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्यहरू भइरहेको महासंघले जनाएको छ ।

महासंघले जनाएअनुसार नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको छ ।  

व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ । जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ । 

नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइएको छ ।

राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिएको, उनका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको देखिएको महासंघको निष्कर्ष छ । 

राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको, पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको जनाइएको छ ।

नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मानिए पनि धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आपूmखुसी निकासा गरेको बारे राज्यले छानविन गर्नुपर्ने महासंघ मिसनको सुझाव छ । 

पत्रकार महासंघले धरानमा सञ्चारकर्मी र सञ्चार संस्थाले भोगेको समस्या निवारण गर्न सरकारलाई गम्भिर ध्यानाकर्षण गराउने भएको छ ।

View : 49

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved