Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी प्रदर्शन : प्रहरीकै कार्यालय तोडफोड र आगजनीमा संलग्न २१ जना पक्राउ

उद्‌घोष संवाददाता
३० कार्तिक २०८२, आइतवार

विराटनगर । भदौ २४ मा चर्किएको जेनजी समूहको उग्र प्रदर्शनका क्रममा मोरङका विभिन्न प्रहरी युनिटमा तोडफोड र आगजनी गर्ने २१ जनालाई मोरङ प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । 

आन्दोलनका नाममा उच्छृंखल तथा आपराधिक मनोवृत्तिका व्यक्तिहरूले घुसपैठ गरेर जिल्ला प्रहरी कार्यालय मोरङसहित इलाका प्रहरी कार्यालय पथरीशनिश्चरे र इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, सीआरभी पोष्ट केशलिया, जतुवा, ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सीसी क्यामेरा र सवारी साधन तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले सुरक्षा निकायसहित विभिन्न सरकारी संरचनामा तोडफोड तथा आगजनी गरी क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई अदालतको अनुमति लिएर पक्राउ गरिएको जानकारी दिइन् । 

सूक्ष्म अनुसन्धान र घटनामा उनीहरूको संलग्नताको विश्लेषण गरी त्यस्ता व्यक्तिहरूको पहिचानसमेत खुलाएर पक्राउ गरिएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले १० जना, इप्रका पथरीशनिश्चरेले ६ जना र इप्रका उर्लाबारीले पाँच जनालाई पक्राउ गरेको प्रवक्ता चुडालले बताइन् । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का २२ वर्षीय विशाल बाल्मिकी, विराटनगर महानगरपालिका–६ का २४ वर्षीय चन्दन बर्मा र २९ वर्षीय किसन सहनी, विराटनगर–९ का २७ वर्षीय गोपी साह र २० वर्षीय विष्णु साफी, विराटनगर–१४ का २४ वर्षीय राजेश यादव, जहदा गाउँपालिका–२ का ३० वर्षीय प्रवेश मण्डल र जहदा–३ का २५ वर्षीय सुशील यादव रहेका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे–१ का ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा २३ वर्षीय चन्द्र कार्की, २३ वर्षीय दीपक चौधरी, २५ वर्षीय मुकेश वराइली, २१ वर्षीय विश्वास थापा, १९ वर्षीय सिद्धार्थ राई र २६ वर्षीय मिथुन मण्डल रहेको प्रहरी प्रवक्ता चुडालले बताइन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–६ का २९ वर्षीय राजकुमार सहनी, ४५ वर्षीय उदय साह, ४० वर्षीय बब्लु साह, ३० वर्षीय मिलन राई र उर्लाबारी–७ का २४ वर्षीय रविन सुन्दास पक्राउ परेका छन् ।

जेनजी समूहका नाममा उग्र प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्दा मोरङमा जिल्ला प्रशासन कार्यालयसहित करीव एक सयवटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । नेपाल प्रहरीका १७ वटा पोस्ट तथा कार्यालय एवं सशस्त्र प्रहरीका चार वटा पोस्टमा क्षति पुगेको छ ।

जिल्लाभित्र रहेका ६३ वटा संघीय सरकार अन्तरगतका कार्यालयमध्ये २१ वटामा तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रदेश सरकार अन्तरगतका ३९ मध्ये १४ वटामा सोही प्रकृतिको क्षति पुगेको जनाइएको छ । 

सवैभन्दा तल रहेर सार्वजनिक सेवा प्रवाह गर्ने निकायका रुपमा रहेको स्थानीय तहतर्फ मोरङमा  दशवटामा आगजनी र तोडफोड भएको थियो । १५९ वटा वडामध्ये ५८ वटा वडा कार्यालयमा समेत आगजनी तोडफोड हुँदा क्षति पुगेको प्रशासन कार्यालयले जनाएको छ । 

प्रदर्शनकारीले १५ वटा निजी घर, तीनवटा व्यापारिक भवन, चारवटा संघसंस्था र राजनीतिक पार्टीका आठवटा कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए ।

प्रहरीले तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूको विवरण संकलनका लागि फोटो र भिडियो लगायतका प्रमाणसहित जानकारी दिन सार्वजनिक रुपमै आह्वान गरेको थियो । सोही आह्वानका क्रममा प्राप्त भएका उजुरी र प्रहरी अनुसन्धानबाट पहिलो चरणमा २१ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार केही राजनीतिक दलसम्वद्ध व्यक्तिहरू नै सरकारी संरचनामा आगजनी र तोडफोडमा संलग्न भएको पाइएका कारण उनीहरूमाथिसमेत अनुसन्धान अघि बढाउने तयारी भइरहेको जनाइएको छ ।

View : 281

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved