Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकारको भूमिकालाई उच्च सम्मान गर्नुपर्छ : प्रदेश प्रमुख

उद्‌घोष संवाददाता
२० वैशाख २०८३, आइतवार

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुलुकमा लोकतन्त्र स्थापनाका लागि पत्रकारहरूले ज्यानको जोखिम मोलेको स्मरण गर्दै उनीहरूको भूमिकालाई उच्च समान्न गर्नुपर्ने बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आइतबार आयोजना गरेको अग्रज पत्रकार सम्मान कार्यक्रमका अवसरमा बोल्दै प्रदेश प्रमुख खापुङ्गले पत्रकारले राष्ट्रिय एकता बलियो बनाउन समेत भूमिका निर्वाह गर्दै आएको स्मरण गरे ।

‘पत्रकारहरूले परिवर्तनका लागि ज्यानको जोखिम उठाएका छन्’ उनले भने, ‘यो देशमा लोकतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको उच्च सम्मान गर्नुपर्दछ ।’

उनले समाचारले समाज र देशलाई सकारात्मक दिशातर्फ अगाडि बढाउनुपर्नेमा समेत उनले जोड दिए । सञ्चार जगतबाट सम्प्रेषित हुने खबरले लोकतन्त्र, शान्ति र एकता कायम गरी राष्ट्रिय एकता बलियो बनाउँदै लैजाने विश्वास लिएको बताए ।

उक्त अवसरमा महासंघ मोरङले ६० बर्ष पुगेका तीन अग्रज पत्रकारहरू केदार चौहान, ज्योति शर्मा र केदार रिजाललाई चा“दीको मेडलसहित सम्मानित गरेको छ ।

कार्यक्रमका अवसरमा महासंघका केन्द्रीय सदस्य कमल रिमालले निजी सञ्चारमाध्यमकै सहयोगमा उदाएको वर्तमान सरकार र यसका नेतृत्वमा पुगेका व्यक्तिहरूले अहिले तिनै निजी सञ्चार माध्यमलाई आर्थिक नाकाबन्दी लगाएर आफ्नो नियन्त्रणमा राख्न खोजेको बताए । 

सरकारको उक्त कदमविरुद्ध महासंघले देशव्यापी रुपमा आन्दोलन गर्दै आएको जानकारी दिए ।

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले वर्तमान सरकार निरंकुशतातर्फ अघि बढ्दै गएको र सञ्चारमाध्यमलाई आर्थिक रुपमा समस्या पार्ने नियतले काम गरिरहेको बताइन् । जसका कारण पत्रकारिता पेशमामा समेत चुनौती बढ्दै गएको धारणा राखिन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा लगायत विभिन्न संघसंगठनका नेताहरूले शुभकामना दिएका थिए । 

यसैबीच, महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा आयोजना गरेको आँखा शिविरमा ९५ जनाको निःशुल्क आँखा जाँच गरिएको महासंघका सचिव नेत्र पी अधिकारीले जानकारी दिए । 

विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा पत्रकार, उनीहरूका परिवारका सदस्य र कर्मचारीहरूको आँखा जाँच गरी निशुल्क चस्मा र औषधि वितरण गरिएको जनाइएको छ ।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved