विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ विलुवा दोभानमा मंगलबार बिहान पहिरो खस्दा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी सिसुवाखोलाका ५५ वर्षीया मोतीमाया राई र २७ वर्षीया समीक्षा राईको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनीहरु सासुबुहारी हुन् ।
मंगलबार विहान करिब ५ बजेतिर घर माथिबाट पहिरोसँगै खसेको ठूलो ढुंगाले उनीहरुलाई किचेको जनाइएको छ । ढुंगाले किचेर २७ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई ९ घण्टापछि उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
पहिरो खस्दा घरभित्र ६ जना थिए । अन्य घरका सदस्यहरु मध्ये ३३ वर्षीय मनिकुमार राई, नाति १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीया समृद्धि राई भने सकुशल छन् । समीक्षाका श्रीमान् वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
पहिरो गएको ठाउँमा उद्धारका लागि प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएको हो। घटनास्थल सदरमुकाम चैनपुरबाट पाँच घण्टा पश्चिम उत्तर पैदल दुरीमा पर्छ ।
View : 226
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved