Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

४ जीपीए ल्याउने सात विद्यार्थीको रोजाईमा शिक्षादीप, नयाँ विद्यार्थीलाई अभिमुखिकरण सम्पन्न

उद्‌घोष संवाददाता
३ साउन २०८२, शनिवार

विराटनगर । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने सात जना विद्यार्थीले विराटनगरको शिक्षादीप कलेज रोजेका छन् । कलेजले शुक्रबार विज्ञान संकायमा भर्ना भएका उनीहरूसहित एक हजार बढी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखिकरण गरेको छ ।

काठमाडौंस्थित नेम इस्टिच्यूटका निर्देशक एवं मोटिभेशनल स्पिकर डा. नवीन शर्मा, शिक्षादीप  कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानु खड्का लगायतले ४ जीपीए ल्याएर शिक्षादीप रोजेका विद्यार्थीहरू आयुष्मा दाहाल, एलिशा सापकोटा, विशेष पौडेल, प्रिन्स कुमार गुप्ता, प्रियन्स यादव संयोग भट्टराई र श्रेय शर्मालाई सम्मानित गरेका हुन् ।

शिक्षादीपमा कक्षा ११ (साइन्स) मा भर्ना हुनका लागि दुई हजार विद्यार्थीहरूले प्रवेश परीक्षामा सहभागी भएका थिए ।

उनीहरू मध्ये १ हजार ५३ जना विद्यार्थी उतिर्ण भएका थिए । उक्त प्रवेश परीक्षामा ‘टप’ गर्ने विद्यार्थी नारायण मण्डललाई समेत सोही अवसरमा सम्मानित गरिएको हो ।

गुणस्तरीय शिक्षा र नियमित उत्कृष्ट नतिजाका कारण कोशी प्रदेशकै उच्च माध्यमिक शिक्षामा उत्कृष्ट शैक्षिक गन्तव्य बनेको शिक्षादीपले १८ औं ब्याचका नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । 

‘मोटिभेशनल स्पिकर’ डा. शर्माले लक्ष्य निर्धारण गरेर पढ्न आग्रह गरे । लक्ष्य निर्धारण गरेमात्रै उत्कृष्ट नतिजा प्राप्त हुने बताए । 

कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले शिक्षादीप रोजेका विद्यार्थीहरूलाई आगामी दुई बर्ष ‘टर्निङ प्वाइन्ट’ रहेकोले मेहेनतका साथ अध्ययन गर्न आग्रह गरे । 

उनले अभिभावकको सपनालाई साकार पार्न विद्यार्थीहरूले नै अनुशासित भएर मेहेनत गर्नुपर्ने र कलेजले त्यसका लागि कुनैपनि कसर बाँकी नछाड्ने बताए ।

प्रिन्सिपल खड्काले शिक्षादीप रोज्ने विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिक्षादीप कलेजका चिफ डाइरेक्टर रमेश कुमार मण्डल, शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका ओअर्डिनेटर नविन कुमार राय लगायत विभागीय प्रमुखहरू, प्राध्यापकहरूको उपस्थिति रहेको थियो । 

सोही अवसरमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गरेका थिए । 

शिक्षादीपले २०६५ साल यता उत्कृष्ट नजिताका साथ अध्ययन अध्यापन गराउँदै आएको छ ।

View : 373

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved