Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको प्रस्तावमा कांग्रेस केन्द्र ‘सकारात्मक’

‘सभापति र उपसभापतिसँग यसबारे निरन्तर कुरा भइरहेको छ । प्रदेशको स्थिति अनुसार अलग निर्णय गर्न दिन हामीले गरेको आग्रहप्रति सभापतिजी सकारात्मक हुनुहुन्छ ।’ – हिमाल कार्की, उपनेता , नेपाली कांग्रेस कोशी संसदीय दल
उद्‌घोष संवाददाता
५ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । प्रदेशमा अस्थिरता निम्त्याउने गरी तत्कालै एमालेसँगको गठबन्धन नतोड्न भन्दै कोशीका नेताहरूले गरिरहेको आग्रहलाई सभापति गगन थापाले सकारात्मक रुपमा लिएका छन् । 

कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले दिएको जानकारी अनुसार यसबारे सभापति थापा र उपसभापति शर्मासँग निरन्तर कुरा भइरहेको छ । 

‘सभापति र उपसभापतिसँग यसबारे निरन्तर कुरा भइरहेको छ,’ कार्कीले भने ‘प्रदेशको स्थिति अनुसार अलग निर्णय गर्न दिन हामीले गरेको आग्रहप्रति सभापतिजी सकारात्मक हुनुहुन्छ ।’

उपसभापति शर्माले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएपछि थप कुरा अगााडि बढ्ने बताएका छन् । 

कांग्रेस कोशीका नेताहरु सुदुरपश्चिमको समस्याका कारण कोशीमा अस्थिरता निम्त्याउने कामले ठीक परिणाम नदिने भन्दै केन्द्रलाई कोशीमा एमालेसँगको सहकार्य तोड्न नहुने भन्दै आग्रह गरिरहेका छन् । 

‘यहाँ एमालेको साथ छाड्दा पनि मुख्यमन्त्रीले विश्वासको मत लिन एक महिना लगाउने अवस्था छ । त्यसमाथि नेकपासँग मिल्दा पनि संख्या पुग्ने अवस्था छैन,’ उपनेता कार्कीले भने ‘संख्या पुर्याउन फेरि अर्को दल गुहार्ने अवस्था बन्छ । बरु एमालेसँगै सहकार्य जारी राखेर नेतृत्व कांग्रेसले लिनुपर्छ भन्ने कुरामा हामीले नेताहरुलाई भनिरहेका छौं ।’

यद्यपि केन्द्रका केही पदाधिकारीहरुले भने केन्द्रको निर्णय एउटा प्रदेशमा एउटा र अर्कोमा छुट्टै हिसाबले कार्यान्वयन गर्दा फरक अवस्था आउन सक्ने सम्भावना औंल्याइरहेका छन् । 

‘प्रदेशहरुलाई स्थानीय आवश्यकता अनुसार निर्णय गर्न दिने सवालमा हामी खुला छौं,’ कांग्रेसका एक पदाधिकारीले भने ‘तर, एजेन्डामै विमति भएर गठबन्धन तोडिएपछि एउटामा सहकार्य गर्ने अर्कोमा नगर्ने विषय त्यति सजिलो हुन्न । हेरौं छलफल चलिरहेको छ । चाँडै टुंगोमा पुगिनेछ ।’ 

‘केन्द्रको निर्देशनबमोजिम सहकार्य तोड्ने अनौपचारिक निर्णय हामीले गरेका थियौं,’ कोशीका उपनेता हिमाल कार्कीले भने ‘तर, अस्थिरताले दिने सन्देश राम्रो नहुने र एमालेसँगकै सहकार्यमा पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आउने भएपछि यहा चाहि सहकार्य नतोडौं भनेर हामीले केन्द्रलाई आग्रह गरिरहेका हौं ।’ 

दलका नेता उद्धव थापा, उपनेता कार्की, प्रमुख सचेतक गोपाल तामाङ, केन्द्रीय सदस्य अमृत अर्यालसहितका नेताहरूले केन्द्रमा यो लबिइङ गरिरहेको नेताहरुले बताएका छन् ।

कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेकाले यसको विघटनले प्रदेशलाई मध्यावधि निर्वाचनमा लैजाने जोखिम रहेको भन्दै कांग्रेस नेताहरु त्यसले अस्थिरता ल्याउने बताउँछन् । 

कांग्रेसले कोशी प्रदेशमा नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरे पनि तत्कालै मन्त्रीहरू फिर्ता गर्न भने कांग्रेस हच्केको थियो ।

यसअघि कोशी प्रदेशसहित देशका ६ वटा प्रदेशमा सत्ता साझेदारी गरिरहेका एमाले र कांग्रेसबीचको सहकार्य टुट्ने अवस्था आउनुमा साढे एक महिनादेखिको आन्तरिक विवाद मुख्य कारण रहेको छ ।

कांग्रेस नेताहरूले एमालेको द्वैध चरित्र र आफूहरूलाई पाखा लगाउने रणनीति बुझेपछि कांग्रेसले सबै प्रदेश सरकारबाट बाहिरिने र एमालेसँगको सहकार्य तोड्ने अनौपचारिक निर्णयमा कांग्रेस पुगेको थियो । 

एमाले अध्यक्ष केपी ओलीले कोशीमा कार्कीलाई विस्थापित गरी तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने र सुदूरपश्चिममा कांग्रेसकै इतर पक्षलाई नेतृत्व सुम्पिने गरी नयाँ राजनीतिक कार्ड फालेका थिए । जसलाई कांग्रेस नेतृत्वले प्रदेशको स्थिरता विरोधी कदम भन्दै स्वीकार गर्न इन्कार गरेको थियो ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved