Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएल सिजन–२ को अक्सन

विराटनगर किंग्सले अधिकतम् मुल्य लगाएका खेलाडी पुगे अर्कै टिममा

उद्‌घोष संवाददाता
२५ साउन २०८२, आइतवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा विराटनगर किङ्स फेरि एकपटक अभागी सावित भएको छ । 

शनिबार काठमाडौंमा भएको एनपिएल मिनी अक्सनमा विराटनगरले अधिकतम् मूल्य लगाएका खेलाडी नै टोलीमा भित्र्याउन पाएन । 

मिनी अक्सनबाट तीन जना खेलाडी भने विराटनगरले भित्र्याएको छ । मिनी अक्सनमा बिक्री नभएका खेलाडीहरुमध्येबाट तयार पारिएको ‘विस लिस्ट’ बाट थप दुईसहित पाँच खेलाडी भित्र्याएको हो । 

विराटनगरले मिनी अक्सनबाट भित्र्याएका खेलाडीहरुमा लेफ्ट आर्म स्पिनर सूर्य तामाङ छन् । उनलाई १० लाखमा विराटनगरले अनुबन्धित गरेको छ । त्यस्तै विकेटकिपर ब्याटर साहिल पटेललाई ५ लाख र अलराउण्डर नारायण जोशीलाई पनि ५ लाखमै विराटनगरले टिममा भित्र्याएको छ ।

विस लिष्टको बलर समुहबाट श्रवण किस्कुलाई २ लाख र ब्याटरका रुपमा संकर रानालाई ५ लाखमा लिएको छ ।

मिनी अक्सनमा विराटनगरले चर्चित अलराउण्डर मोहम्मद आदिल अन्सारीमाथि अधिकतम १५ लाखको बोली लगाएको थियो । तर, आदिलमाथि आठै वटा टिमले अधिकतम मुल्यमै बोली लगाएका थिए । उनीमाथि सबैले बोदली लगाएपछि गोलामार्फत आदिल काठमाडौं गुर्खाजमा पुगेका थिए । 

त्यस्तै शेर मल्लमाथि पनि विराटनगरले उत्साही भएर बोली लगाएको थियो । गोला हुँदा उनी पनि अर्कै टिममा परे । लेग स्पिनर युवराज खत्रीमाथि पनि उत्साही देखिएको विराटनगरले उनलाई पनि गोलामै गुमाएको छ । 

पहिलो सिजनमा पनि विराटनगरले ललित राजवंशीसहित धेरै खेलाडीमा बोली लगाए पनि गोलाबाटै गुमाएको थियो । 

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्सले  मार्की खेलाडीसमेत रहेका कप्तान सन्दिप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको थियो । 

पहिलो सिजनमा विराटनगरबाट खेलेका उनीहरुले दोस्रो सिजन पनि विराटनगरबाटै खेल्नेछन् । विराटनगरले सन्दीपलाई यसपटक पनि मार्कीको रुपमा टोलीमा राख्दा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टोलीमा निरन्तरता दिएको छ । 

विराटनगरले रिटेन गरेका यी सबै खेलाडी पहिलो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरु हुन् । पहिलो सिजनमा सन्दीप आफै पनि चल्न सकेका थिएनन् ।

विराटनगरले यसपटक पाँच जना खेलाडीलाई रिलिज गरेको थियो ।  राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, मृनाल गुरुङलाई टिमले रिलिज गरेको हो । 

नेपाल प्रिमियर लिगको पहिलो सिजन विराटनगरका लागि बिर्सनलायक बनेको थियो । 

छैटौं स्थानमा रहेर पहिलो सिजन अन्त्य गरेको विराटनगरले जम्मा दुई खेलमा मात्र जीत हात पारेको थियो । 

न्युजिल्यान्डका विस्फोटक ब्याटर मार्टिन गप्टिलसहितको विराटनगर टोलीले मैदानमा राम्रो छाप छोड्न सकेको थिएन । 

एनपीएल नेपाली क्रिकेटको पहिलो फ्रेन्चाइजी प्रतियोगिता हो । विदेशका चर्चित खेलाडीले पनि सहभागिता जनाएको यो प्रतियोगिता नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल र ठूलो आयोजना बनेको थियो ।

View : 725

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved