Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार

उद्‌घोष संवाददाता
१३ असोज २०८१, आइतवार

Advertisement

धरान , १३ असोज । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । 

बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए ।

अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । 

शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो ।

प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए । 

नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उनीहरु निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र परेका थिए ।”

आज कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उनले जानकारी दिए । रासस

View : 614

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved