विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै भवन निर्माण गरि सेवा सुरू गरेको छ ।
नवनिर्मित वडा भवन कार्यालयको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गरे ।
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले छिटोछरितो रूपमा जनतालाई सेवा दिन वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशनसमेत दिए ।
चालु आर्थिक वर्षका लागि वडाबाट ५० लाख लगानी गर्ने योजनाका लागि महानगरले ५० लाख रूपैयाँ थपिदिने मेयर कोइरालाले बताए ।
हाता पर्खालसहित ६९ करोडको लागतमा निर्मित भवनमा प्रशासन, लेखा, अध्यक्ष र सचिवको कार्यकक्ष, भण्डारकक्ष, प्राविधिकसहित ६ वटा कोठा छन् । २ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको भवन अपाङ्गमैत्री रहेको महानगरको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
यसअघि भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । साँघुरो ठाउँबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा निकै समस्या भएको वडाध्यक्ष जीतेन्द्र साहले बताए ।
नवनिर्मित भवनमा पार्किङ, पूर्व र उत्तरबाट प्रवेशद्वार भएकाले आवागमनमा समेत सहज हुने वडाध्यक्ष साहको भनाइ छ । महानगरका १९ वडामध्ये अब १३ नम्बर वडाको मात्रै भवन निर्माण हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
View : 119
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved