Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सी जिङपिङको पुस्तक जलेपछि बन्यो छानबिन समिति

‘नियतवस’ पुस्तक नजलाएको मनमोहन प्राविधिक विश्वविद्यालयको दाबी

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

विश्वविद्यालयले गठन गरेको छानबिन समितिको बिहीबार बसेको बैठक । तस्वीर सौजन्य : ध्रुव भट्टराई

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङद्वारा लिखित पुस्तक जलाइएको घटनामा नियतवश नभएको स्पष्ट पारेको छ । 

उक्त घटनाका क्रममा सार्वजनिक भएका तस्वीर तथा सूचनाहरूप्रति विश्वविद्यालयले बुधबार गठन गरेको तीन सदस्यीय छानबिन समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि नेपालस्थित चिनिया दुताबासले राखेको चासोका कारण नेपालसँगको कुटनीतिक सम्बन्धमै जटिलता निम्त्याएको भन्दै गृहमन्त्रालयले छानबिन अघि बढाइरहेको बेला विश्वविद्यालयले पनि अलग्गै छानबिन अघि बढाएको हो । 

छानबिनका लागि मनमोहन प्राविधिक विद्यालय संरक्षण समितिका सदस्य राजन केसीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । 

समितिका सदस्यहरू मुकेश उपाध्याय र उच्च अदालत बार एशोसिएशन विराटनगरका पूर्वअध्यक्ष सुरेशलाल श्रेष्ठ रहेका छन् । समितिले बिहीबारदेखि छानबिन प्रारम्भ गरेको हो ।

समितिको तर्फबाट बिहीबार नै विज्ञप्ति जारी गर्दै आफ्नो संस्थासँग सम्बन्धित भन्दै फैलाइएका तस्बिर तथा सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

विश्वविद्यालयले ती सामग्रीका आधारमा उठेका आशंकाप्रति स्पष्टीकरण दिंदै कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट नगरिएको दाबी गरेको हो ।

विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार संस्थाको परिसरभित्र रहेको एक कार्यशालामा विगत केही समयदेखि प्रयोगमा नआएका सामग्री तथा कबाडी सामान खाली गरी हटाइएको जनाएको छ ।

विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल इन्जिनियरिङ विभागको ल्याब स्थापना गर्न उक्त सामग्रीहरू राखिएको ठाउँ खाली गरी सरसफाइ तथा व्यवस्थापन गर्ने क्रममा पूर्ण रूपमा बिग्रेका तथा अन्य कबाडी सामग्री व्यवस्थापन गरिएको र सोही क्रममा मक्किएका, बिग्रिएका र अर्धनष्ट अवस्थाका केही पुस्तक समेत नष्ट हुन गएको दाबी गरेको हो । 

त्यस क्रममा विश्वविद्यालयले त्यहाँ रहेका अन्य पुस्तक तथा सामग्री भने छुट्याएर सुरक्षित रूपमा राखिएको स्पष्ट पारेको छ ।

विश्वविद्यालयद्वारा गठित आन्तरिक छानबिन समितिको बिहीबार बसेको बैठकमा घटनाका बारेमा छलफल भएको हो । 

छलफलपछि विश्वविद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरिएजस्तो कुनै खास पुस्तक वा सामग्रीलाई लक्षित गरी नियतवश नष्ट नगरिएको जनाएको छ ।

View : 65

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved