प्रहरीले उद्धार गरेको टोके र वन रक्षकको नियन्त्रणमा रहेका चौधरी । तस्वीर : उद्घोष
विराटनगर । रंग फेर्ने छेपारो (अंग्रेजी नाम टोके गेको) बोकेर हिंडेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा महंगो मूल्यमा बिक्री हुने दाबी गरिएको यो छेपारो बोकेर हिंडेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले मोरङको कानेपोखरी–७ स्थित पूर्वपश्चिम राजमार्गको किनारबाट पक्राउ गरी छेपारोको समेत उद्दार गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा–११ का ४० वर्षीय दिपक कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले राजमार्ग क्षेत्रमा कालो ब्याग बोकेर हिंडेका चौधरीलाई प्रहरीले शंका लागेर तलासी लिंदा ब्यागभित्र टोके फेला परेको जनाइएको छ ।
चौधरीले प्रयोग गरेको प्र. ०१–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल पनि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
चौधरीलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय कानेपोखरीमा बुझाइएको जनाएको छ ।
टोकेको तस्करी गर्नेलाई फिलिपिन्समा १२ वर्ष जेल सजाय हुने व्यवस्था छ ।
चौधरीले यो सरिसृप कहाँ लैजान लागेका थिए भन्ने विषयमा निकै गहिरो अनुसन्धान भइरहेको बताइएको छ ।
यो सरिसृप नेपाल, भुटान, बंगलादेश, फिलिपिन्स, इण्डोनेसिया लगायतका देशमा पाइन्छ । यस प्रकारका छेपारो सबै भन्दा धेरै एसिया तथा प्यासिफिक आइल्याण्डमा पाइने बताइएको छ ।
३५ सेन्टिमिटर लामो यो सरिसृप भारतको बाटो हुँदै बंगलादेशबाट अन्यक्र मुलुकमा बित्रीका लागि तस्करी हुने गरेको बताइएको छ । यसको तस्करीमा भारतीयहरूको अन्तर्राष्ट्रिय सञ्जाल पनि रहेको बताइन्छ ।
भारतीय तस्कर अतिउल्लाह केही वर्षअघि पक्राउ परेका थिए । टोके पाल्दा सौभाग्यशाली हुने मान्यताका कारण धनाढ्यहरूले यसलाई घरमा संरक्षण गर्ने गर्छन् ।
चिनियाँहरुले टोकेको प्रयोग गरी परम्परागत औषधी पनि बनाउने गरेको दाबी गरिएको छ ।
यसको तेल सुन्दर रहनाका लागि पनि प्रयोग गरिने उल्लेख छ । सबैभन्दा बढी फिलिपिन्सबाट तस्करी हुने भएकाले त्यहाँ टोके लोप हुने अवस्थामा छ ।
पूर्व मोरङको जंगल क्षेत्रमा यसको बासस्थान रहेका कारण यसअघि पनि टोके तस्करीका घटनाहरु सार्वजनिक भएको जनाइएको छ ।
View : 516
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved