सुनसरी । कर्मचारीमाथि दुब्र्यवहार भएको भन्दै इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् ।
इटहरीमा मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरीबीच यसअघिदेखि कै विवादको असर कर्मचारीसम्मै पुगेको हो । मेयर उपमेयरको विवादको परिणाम कर्मचारीहरू विभाजित बनेका हुन् ।
गत शुक्रबार कार्यबाहक नगरप्रमुख संगिता चौधरीसहित नेकपा एमालेबाट निर्वाचित केही वडाध्यक्षहरूले प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि दुब्र्यवहार गरेको आरोप लागेको थियो । सोही विषयलाई कारण बनाएर वडाध्यक्षहरूले उपमहानगरपालिकाको प्रशासन शाखामा तालाबन्दी गरेपछि उनीहरु आन्दोलित बनेका हुन् ।
प्रशासन शाखा प्रमुख खड्काले वडा कार्यालयहरूमा सर्भर डाउन गरिदिएको आरोप लगाउँदै चौधरीसहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्कामाथि आक्रामक बन्दै गालीगलौजमा उत्रिएपछि त्यसको निन्दा गर्दै कर्मचारीहरूले कार्यालयको काम ठप्प पारेका छन् ।
आइतबार कार्यकक्षमा प्रवेश नगरी कार्यालय परिसरमा भेला भएका कर्मचारीहरुले ४८ घण्टाभित्र उपमेयर चौधरीले लिखित आत्मालोचना गर्नुपर्ने र कर्मचारीलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने भन्दै विरोध सुरु गरेका हुन् । कर्मचारीको उक्त आन्दोलनमा भने मेयर पौडेल उपस्थित भएपछि यो आन्दोलनले राजनीतिक रंग अनुसार चलेको उपमेयर निकट कर्मचारीहरूले बताए ।
४८ घण्टाभित्र माग पूरा गरी प्रशासन शाखामा लगाइएको ताला खोल्न सहजीकरणका लागि भन्दै कर्मचारीले नगरप्रमुख हेमकर्ण पौडेललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । समयसीमा भित्र माग पूरा नभए थप आन्दोलनको घोषणा गरिने एकीकृत सरकारी कर्मचारी संगठनका सुनसरी अध्यक्ष गणेश भटराईले बताए ।
ज्ञापनपत्र बुझ्दै दुईसाता लामो बिदा पश्चात आइतबारदेखि नै हाजिर भएका नगरप्रमुख पौडेलले समयसीमाभित्र माग पूरा गर्नका लागि संवाद थालिसकेको बताए ।
View : 65
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved