Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ प्रहरी प्रमुखमा कार्की

उद्‌घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । कोशी प्रदेशको राजधानीलाई नेतृत्व गर्न प्रहरी उपरीक्षक नवराज कार्की आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलको ठाउँमा उनी आउने भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट सरुवा भएर मोरङ आउन लागेका कार्कीको यो मोरङ जिल्लामा चौथो पटकको सरुवा हो । उनी प्रहरी निरीक्षक हुँदा प्रहरी तालिम केन्द्र रानी, इलाका प्रहरी कार्यालय बेलबारी, उर्लाबारीमा पनि रहेर नेतृत्व गरिसकेका व्यक्ति हुन् । नायव उपरीक्षक हुँदा उनले दमकको नेतृत्व गरेका थिए ।

उदयपुरको कटारी–६ स्थायी घर भएका कार्की २०६८ सालमा संयुक्त राष्ट्रसंघको मिसनमा सहभागी भएर नेपाल प्रहरीको सान राखिसकेका व्यक्ति हुन् । मोरङ र कोशी प्रदेशलाई नजिकबाट नियालेका कार्कीको नेतृत्वमा मोरङ तथा प्रदेशको राजधानी विराटनगरमा सुरक्षा अवस्था व्यवस्थित रहने प्रहरी अधिकारीहरुले बताएका छन् ।

‘नेपाल प्रहरीमा भद्रकालिन र पूर्ण व्यावसायिक ब्यक्ति मोरङमा आउँदै हुनुहुन्छ’ प्रहरी उपरीक्षक दीपक पोखरेलले भने ‘उहाँ प्रहरी संगठनमा सही मान्छेका रुपमा रहनु भएको छ ।’ कानुन विषयमा स्नातकोत्तर गरेका कार्कीले मोरङको सीमावर्ति क्षेत्रमा स्थापित भन्सार छली र अपराधलाई निस्तेज पार्न ठूलो चुनौती लिनु पर्ने हुन्छ ।

जिल्ला र प्रदेशलाई पहिलेदेखिनै अध्ययत गरेकाले मोरङको सुरक्षालाई व्यवस्थित गर्न सक्ने आफूसँग क्षमता रहेको कार्कीले बताएका छन् ।

आफू प्रहरी सेवामा प्रवेश गर्नु अघि वकालत पेशामा रहेको पनि उनले जानकारी दिए । नेपाल प्रहरीले देशभरमा ६८ जना उपरीक्षकहरुको सरुवा गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पोखरेल र सुमन तिम्सिनाको सरुवा भएको छ ।

तिम्सिना यसअघि प्रदेश प्रहरी कार्यालयमा प्रवक्ताका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

प्रदेश प्रहरी गण रानीमा भीमबहादुर दाहालको सरुवा भएको भने गणमै रहेका लक्ष्मीराज अधिकारीको सरुवा धरानस्थित दाहाल रहेको अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।

झापाका दुर्गाराज रेग्मीको ठाउँमा मिलन केसीको सरुवा भएको छ ।

View : 740

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved