इटहरी । सुनसरी उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका लागि संस्थागत विकास तालिमको आयोजना गरेको छ । संस्थाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो ।
धनकुटाको पर्यटकीयस्थल भेडेटारमा आयोजित तालिममा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, संस्थाको भावी योजना, संस्थागत आचरण र स्थानीय तहका राजस्व सम्बन्धी विषयवस्तुमाथि प्रकाश पारिएको थियो ।
तालिममा नेपालकै चर्चित कुशल प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख खगेन्द्र खतिवडाले सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार संघलाई नयाँ मार्गनिर्देशन दिन, भावी योजना तयार गर्न र असल बैठक सञ्चालन गर्न तालिमको आयोजना गरिएको हो ।
‘हामीले स्थानीय तहको राजस्वका विषयमा छलफलका साथै संस्थाको विकास र असल बैठक सम्बन्धमा विशेष प्रशिक्षण लिएका थियौं’ अध्यक्ष श्रेष्ठले बताए । तालिम संयोजक तथा संघका प्रचार तथा संगठन सचिव विष्णु बराल थिए ।
तालिममा सहभागी नवनियुक्त सदस्य सबिता राईले यस्ता प्रशिक्षणले कार्यसमितिका सदस्य र पदाधिकारीहरूलाई ऊर्जा मिल्ने तथा उनीहरूको एकता र कार्यदक्षतामा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
सोही तालिमको समुद्घाटन समारोहमा सुनसरी उद्योग वाणिज्य संघको सञ्चालक समितिबाट र अध्यक्षद्वारा मनोनित सदस्यहरूलाई सपथ ग्रहण गराइएको थियो ।
सपथ ग्रहणपश्चात् तालिमको समापन समारोहमा अध्यक्ष श्रेष्ठले मनोनित कार्यसमिति सदस्य र पदाधिकारीहरूलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए ।
View : 98
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved