विराटनगर : भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिद्वारा प्रकाशित प्हुगाल ङुर एवेत ओहरा (भुजेल भाषा र लिपि) नामक फुस्तकको शुक्रबार एक कार्यत्रमको आयोजना गरी विमोचन गरिएको छ ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले सो पुस्तकको विमोचन गर्दै भाषा, लिपि, संस्कार, संस्कृति संरक्षण र विकासको लागि भुजेल समाजको चाहना अनुसार महानगरपालिका हातेमालो गर्न तयार रहेको धारणा व्यक्त गरे ।
भाषा, संस्कृति सिक्ने कुरा बाहिरबाट कर गरेर भन्दा पनि अन्तरआत्माबाटै जाग्नु पर्ने हुँदा त्यस्तो कर्ममा सहयोग पुर्याउनु पर्ने वातावरणको सिर्जना गर्न भुजेल समाजलाई कोइरालाले आग्रह गरे ।
भुजेल भाषा, लिपि, संस्कार, संस्कृतिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलबाट संकलित उक्त पुस्तकमा भाषा र लिपिको इतिहास, वर्ण, चिन्ह र चलनचल्तिका नेपाली भाषाका शब्दहरूलाई भुजेल भाषामा रूपान्तरण गरिएको छ ।
त्यसैगरी स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले भुजेल र मगर समुदायका विद्वान बसेर आ–आफ्नो इतिहास छुट्याउनु पर्ने बताए । भुजेल र मगरको भाषा, लिपि, भेषभूषा केही मिल्दोजुल्दो भएकाले आ–आफ्नो ऐतिहासिक थाकथलो र इतिहास खोज्ने क्रममा दुबै जातिका अध्येताहरूले लाग्नु पर्ने विचार ब्यक्त गरे ।
त्यस्तै विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलले मन, वचन र कर्मले समर्पित हुँदै व्यवहारमा उतारे मात्र भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षण हुने जनाए ।
सोही क्रममा भुजेल समाज सेवा समिति केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेलले भुजेल जातिको भाषा, लिपि सिक्न सिकाउन र युगयुगका लागि दस्तावेजीकरण गर्न हुने गरी पुस्तक प्रकाशन गरेर विराटनगर महानगरपालिका समितिले पूर्वाधार तयार गरेको बताए ।
समाजका विराटनगर महानगरपालिका समितिका अध्यक्ष गोपाल भुजेलको सभापतित्वमा सम्पन्न सो पुस्तक विमोचन र भाषा तालिम उद्घाटन कार्यक्रममा समाजका संस्थापक केन्द्रीय सचिव पूर्णबहादुर भुजेल (क), कोशी प्रदेश समितिका कोषाध्यक्ष एवं विराटनगर महानगरपालिका समितिका संरक्षक इन्द्रबहादुर भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सीमान्तकृत भुजेल जातिको लोपोन्मुख भाषा, लिपि, संस्कार, संस्कृति संरक्षणको लागि विराटनगर महानगरपालिका वडा नं–१६ को आर्थिक सहयोगमा सो कार्यक्रमको सुरूवात गरिएको हो ।
View : 385
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved