Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

कमला–राजबहादुर कुँवर गुठीद्वारा विभिन्न व्यक्ति सम्मानित

उद्‌घोष संवाददाता
५ असार २०८२, बिहिवार

विराटनगर । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न विधाका पाँच जना विशिष्ट व्यक्तित्वलाई पुरस्कृत तथा सम्मानित गरेको छ । 

विराटनगरमा आयोजित एक कार्यक्रममा साहित्यकार नारायण तिवारीलाई २५ हजार नगद राशिसहितको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार र समाजसेवी जगतप्रसाद अर्जेललाई  १५ हजार राशिको कमला–राजबहादुर कुँवर समाजसेवा पुरस्कार प्रदान गरिएको छ । 

यसैगरी धार्मिक अभियन्ता प्रा कृष्ण भण्डारीलाई १५ हजार राशिको कमला–राजबहादुर कुँवर धर्म–संस्कृति पुरस्कार, सङ्गीतज्ञ डा लोचन रिजाललाई ११ हजार राशिको कमला–राजबहादुर कुँवर सङ्गीत पुरस्कार र इन्जिनियर धीरेन्द्र रौनियारलाई पनि  ११ हजार राशिको कमला–राजबहादुर कुँवर विज्ञान पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

त्यसैगरी विराटनगरका बिभिन्न चार समाजसेवीहरूलाई पनि सम्मान गरिएको छ । 

सम्मानित हुनेमा विराटनगरका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठ, पूर्व उपमेयर उद्धव पौडेल, भगवान अधिकारी र पुष्प श्रेष्ठ छन् ।

यस्तै अरनिको बोर्डिङ स्कुलमा अध्ययन गरेर चिकित्सा विज्ञानमा ख्याति कमाउन सफल बिभिन्न विषयका २८ जना डाक्टरहरूलाई पनि संथाका तर्फबाट सम्मान गरिएको छ । 

संस्थाका अध्यक्ष दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) को अध्यक्षता र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाको प्रमुख आतिथ्यमा  सो कार्यक्रम सम्पन्न भएको थियो । 

कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीको दशौं वार्षिकोत्सवको अवसर पारेर गरिएको गरिएको कार्यक्रममा अर्का संरक्षक स्वर्गीय राजबहादुर कुँवरप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । 

कार्यक्रममा डा शैलेशमणि पोखरेल, विवेक कुँवर, चूडामणि नेपाल, खगेन्द्र लामिछाने, सुभाष गोयल, विकास श्रेष्ठ, दीपेन्द्र अमात्य, विनयविष्णु केसी, इन्दिरा रिजाल, गंगा सुवेदी लगायतले आफ्ना विचारहरू राखेका थिए ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved