विराटनगर । नेपाली कांग्रेसभित्र कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका तीन नेता हुन् शेखर, सशांक र सुजाता कोइराला ।
१४ औं महाधिवेशनमा तीनतिर विभक्त बनेका उनीहरूमध्ये शेखर र सुजाता अहिले एक ठाउँमा आइपुगेका छन् । तर, वीपी पुत्र संशाक भने शेखरबाट झन्–झन् टाढिदै गएका छन् ।
यसको पछिल्लो प्रमाण हो, सोमबार राजधानीमा भएको कांग्रेसका सात पूर्वपदाधिकारीहरूको जमघट । शेखरका भाइ संशाक पनि सहभागी सात भाइको त्यो बैठकले शेखरलाई नै ‘काउन्टर’ दिने गरी निर्णय लिएको छ ।
संयोग यस्तो देखिएको छ कि शेखरको पछिल्लो राजनीतिक सक्रियताको सबैभन्दा धेरै विरोध संशाक आफैले गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
सरकारका उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा उनीसहित पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू सशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत भेला भएका थिए ।
छलफलमा सहभागी एक नेताका अनुसार पूर्वमहामन्त्री सशांक कोइरालाले शेखर कोइरालाका पछिल्ला गतिविधिबारे प्रसंग निकालेका थिए ।
‘सशांकजीले शेखरजीका पछिल्ला गतिविधिबारे प्रसंग उठाउनुभएको थियो, हाम्रो मुख्य चासो सरकारका कामकारबाही र पार्टीका आन्तरिक विषय नै थिए तर शेखरजीको दौडधुपका कुरामा धेरै चिन्ता गरिएन, किनभने त्यो उहाँले हुने काम गरेको भए पो धैरै घोत्लिनु’ चाक्सीबारीमा छलफलमा सहभागी ती नेताले भने, ‘शेखरजीका दौडधुप असान्दर्भिक र गठबन्धनको भावनाविपरीत छ ।’
कुनैबेला एमाले–कांग्रेस मिलेर सरकार चलाउनुपर्ने पक्षमा उभिएका शेखर अहिले नयाँ गठबन्धनको कसरतमा लागेको आशंका भइरहेको छ ।
माओवादी अध्यक्ष प्रचण्डदेखि पूर्वराष्ट्रपति विद्या भण्डारीसम्मलाई शेखरले भेटिसकेका छन् ।
पार्टीको आगामी महाधिवेशनमा सभापतिमा फेरि उठ्ने घोषणा गरिसकेका शेखरलाई भाइ सशांकले साथ नदिने निश्चित हुने गरीका गतिविधि पछिल्लो समयमा देखा परेको छ ।
शेखरको पछिल्लो दौडधुपप्रति असन्तुष्ट सुनिएका संशाकले यसअघि रमेश लेखकबारे शेखरको अभिव्यक्तिमा त स्पष्टीकरण माग्नुपर्ने बताएका थिए ।
विराटनगर मूलथलो भएर देशैभर राजनीतिक प्रभाव विस्तार गरेको कोइराला परिवारका दुई भाइ शेखर र संशाकबीच राजनीतिक सम्बन्ध त्यो परिवारका शुभचिन्तकले चाहे जस्तो सहज नबन्ने संकेतहरू प्रशस्त देखिएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका शेखरलाई स्पष्टीकरण सोध्न भनेका संशाकसँग शेखर झनै चिढिएका थिए । १४ औं महाधिवेशनमा नसघाएको तुष त छँदै थियो ।
गिरिजा पुत्री सुजाता र केशव–नोना पुत्र शेखरबीचको सम्बन्ध सुध्रिएका बेला वीपी पुत्र सशांकको भने यी दुईसँगको दुरी निरन्तर बढ्ने क्रममा छ ।
१४ औं महाधिवेशनमा दाइ शेखरलाई नसघाए पनि सशांकले उनीविरुद्ध तिखो टिप्पणी गरेका थिएनन् । यसपटक भने सशांकले गृहमन्त्रीको राजीनामा माग्ने वियषयदेखि पछिल्लो दौडधुपसम्मलाई लिएर शेखरविरुद्ध निरन्तर बोलिरहेका छन् ।
महाधिवेशनमा आफूलाई सहयोग नगरेयता नै शेखर संशाकलाई ‘अरुले प्रयोग गरेको’ बुझाइमा रहेको उनी निकटहरू बताउँछन् ।
‘महाधिवेशनमा नसघाउने उनले अहिले त्यति बोले भनेर किन अचम्म मान्नु’ भन्ने अभिव्यक्ति शेखरले दिएको निकटहरूको भनाइ रहने गरेको छ ।
शेखर कोइराला सभापति देउवासहित पार्टी संस्थापनविरुद्ध खुला रुपमा उभिएको धेरै भयो ।
आउँदो महाधिवेशनको तयारीका लागि देश दौडाहामा रहेका उनले बेलाबेला कोइराला परिवार एकै ठाउँ हुनुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् ।
यद्यपि कोइराला परिवारलाई नजिकैबाट चिन्नेजान्नेहरू भने घटनाक्रमले यी दाजुभाइको दुरी झनै बढाउँदै लगेको बताउँछन् ।
कोइराला परिवारसँग लामो समयदेखि निकट सम्बन्धमा रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने उनीहरू एकै ठाउँ हुने सम्भावना कायमै रहेको बताउँछन् ।
‘यी दुई अद्भूत रुपमा मिल्ने दाजुभाइमध्येमा पर्छन्’ पुरञ्जनको दाबी छ । कांग्रेस राजनीतिमा सक्रिय रहेका कोइराला परिवारका तीन सदस्य शेखर, संशाक र सुजाता जब एकै मञ्चमा उभिन्छन्, त्यसबेला अब एकै ठाउँ उभिएर अघि बढ्ने बताउ“छन् । तर, मञ्चबाट ओर्लेर बाहिर पुग्नासाथ अलग–अलग व्यवहार सुरु भइहाल्ने गरेको छ । घटनाक्रमले पनि त्यस्तै देखाउँछन् ।
२०७५ को मंसिर २ मा जीपी कोइराला फाउण्डेशनको कार्यक्रम कोइराला निवासमा एकै ठाउँ भेला भएर उनीहरूले ‘एकताबद्ध हुने’ प्रण गरेका थिए ।
कार्यकर्ताले तीनै जनालाई एउटै माला लगाएर एक हुन भनेका थिए । तर, त्यसको तीन वर्ष पूरा हुदा नहुँदै २०७८ मा तीन जना तीनतिर बने ।
२०८० असोज ३ का दिन पनि तीनै जना राजधानीको एकै मञ्चमा उपस्थित थिए । त्यसदिन वीपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका वीपी’ विषयक छलफलमा वक्ताका रूपमा शेखर, सशांक र सुजाता निम्त्याइएका थिए । त्यो कार्यक्रममा पनि उनीहरूले ‘अब मिलेर अघि जाने’ बताएका थिए ।
त्यसपछि गत बैशाख २३ गते नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको फोटो प्रदर्शनीमा पनि तीनै जना नेताहरू एकै मञ्चामा थिए ।
बेलाबेला हुने पारिवारिक भेटघाट र चाडपर्वमा पनि उनीहरू सँगै भेटिने गरेका छन् । तर राजनैतिक रुपमा भने उनीहरू विभाजित देखिन्छन् ।
View : 529
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved