धरान । पाँच पटकको उपाधि बिजेता बिभागीय टिम नेपाल पुलिस क्लब २४ औं अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
धरान रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा एन्फा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै पुलिस पहिलो खेलबाटै बाहिरिएको हो । पुलिसलाई पराजित गर्न मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक–एक गोल गरे ।
प्रतिष्पर्धात्मक खेलको मध्यान्तरसम्म दुबै टोलीबाट गोल हुन सकेन । मध्यान्तरपछि पुलिसमाथि दबाब बढाएको मोरङका लागि महेन्द्रले ७० औं मिनेटमा साइमन लिम्बूले प्रहार गरेको फ्रिकिकलाई हेडमार्फत गोल गरेका थिए । ८० औं मिनेटमा पुलिसका सञ्जीब लामाले मोरङका मौषम लिम्बूलाई डिएरियामा लडाएपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिए ।
उक्त पेनाल्टीलाई उमेशले सहजै गोल गरे । मोरङका लागि खेलको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३–० ले स्तब्ध भएको हो । उक्त गोल पश्चात पुलिसका हेमन्त श्रेष्ठले बिपक्षी खेलाडीसँग बिवाद गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
कार्डको बर्षा भएको खेलमा पुलिसका अन्य ४ जना र मोरङका ३ जनाले पहेलो कार्ड पाएका थिए । जितसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको उत्कृष्ट खेलाडीमा बिजयी टिमका उमेश कार्की घोषित भई नगद १० हजार पुरस्कार पाए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको अन्तिम क्वाटरफाइनलमा झापा गोल्डकप बिजेता चर्च ब्वाइज क्लब र काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजकले जनाएको छ ।
चैत ३ गतेसम्म चल्ने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
View : 274
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved