विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नरेशकुमार साह सभापति पदमा विजयी भएका छन् ।
बिहीबार विराटनगरमा सम्पन्न निकै प्रतिस्पर्धात्मक निर्वाचनमा पूर्व सभापति समेत रहेका साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई मात्र १ मतको अन्तरले पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।
कुल १४० मतदाता रहेको संघमा १३३ मत खसेको थियो। सभापतिमा विजयी साहले ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नवीन लामिछानेले ४४ मत पाए ।
यस्तै, अन्य प्रत्यासीहरू भूपेन्द्र बाह्रकोटीले २९ र निरजकुमार मिश्रले १५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनबाट उपसभापति, महासचिव, सचिव र कोषाध्यक्ष पदमा पनि नयाँ अनुहार निर्वाचित भएका छन् । उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरू जीवन थापाले ४६ र शंकरप्रसाद दाहालले ३४ मत प्राप्त गरे ।
महासचिवमा प्रसन्न दाहाल ८६ मतसहित ठूलो मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दुर्गाप्रसाद बाँस्तोलाले ४७ मत प्राप्त गरे ।
सचिवस्मा पुकार चौधरी ७३ मत प्राप्त गरी विजयी भए भने उनकी प्रतिस्पर्धी दीक्षा पौडेलले ६० मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा प्रमिला सिन्हा ६९ मत ल्याएर निर्वाचित भएकी छन् । उनको प्रत्यासी अविनाशकुमार मण्डलले ६३ मत प्राप्त गरे ।
पूवि प्राध्यापक निर्वाचन समितिका संयोजक मनोजकुमार हलवाईका अनुसार निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न गर्न हलवाईको संयोजकत्वमा कृष्ण दाहाल र दीपककुमार खतिवडा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नयाँ नेतृत्वले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र प्राध्यापकहरूको पेशागत हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनका उम्मेदवारहरू
सभापतिका चार प्रत्यासीहरू
View : 574
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved