विराटनगरको एक घरमा धमिराको औषधि हाल्न ड्रिल गरिंदै । तस्वीर : उद्घोष
विराटनगर । पछिल्लो समय विराटनगरका विभिन्न क्षेत्रमा धमिराको समस्या प्रकोपका रूपमा बढ्दै गएको छ । जसका कारण घरधनी घरमा लागेका काठ र फर्निचर नष्ट गर्न बाध्य भएका छन् ।
पुराना घरका काठबाट फैलने गरेको धमिरा अचेल नयाँ घरमा पनि देखिन थालेकाले विराटनगरमा यो समस्या नियन्त्रण चुनौतीका रूपमा देखिएको छ ।
कतिपयले धमिरा नियन्त्रणका लागि स्थानीय सरकार गुहार्दै आएका छन् ।
विराटनगरमा धमिराको उपचार गर्दै आएको विराट पेष्ट कन्ट्रोल नामको कम्पनीका अनुसार तीब्र गतिमा फैलदै गरेको धमिराको समस्या समाधानमा लामै मेहनत गर्नुपर्ने हुन्छ ।
कम्पनीका सञ्चालक मनिष सिग्देलका अनुसार एक वर्षको अवधिमा विराटनगरका दुई हजार भन्दा बढी घरमा धमिराको उपचार गरिएको छ ।
धमिरा नियन्त्रणमा लागि घरको भित्र र बाहिर ड्रिल गरेर भित्र औषधि हालिन्छ । यो प्रबिधि केही महंगो भए पनि १० वर्षसम्म धमिरा नियन्त्रणको दाबी गर्न सकिने सिग्देल बताउँछन् । विषेश गरी घरको भुइतला र चिस्यान धेरै हुने क्षेत्रहरूमा धमिराको प्रकोप ह्वात्तै बढेको पाइएको छ ।
यो सामाजिक प्रकृतिको किरा हजारौंको संख्यामा एकै साथ बस्ने भएकाले एउटा फर्निचर वा ढोका बर्बाद पार्न लामो समय लाग्दैन । रानी धमिराले मात्रै अण्डा पारेपनि ठूलो संख्यामा एकै साथ बच्चा निकाल्छ ।
एउटा परिपक्क रानी धमिराले एक पटकमा ३ हजार वटासम्म अण्डा दिनसक्ने सिग्देल दाबी गर्छन् । सामान्य धमिराको आयु एक वर्षको हुने भए पनि रानी धमिरा भने १५ वर्षसम्म र राजा धमिरा १० वर्ष बाँच्न सक्छ ।
काठका ढोकादेखि भुइका पाटासम्म धमिराले क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
काठभित्र खोक्रो आवाज आउन थाल्यो, पछि खोलेर हेर्दा पूरा भित्र धमिराले खाएको रहेछ, एक घरधनीले गुनासो गरे ।
धमिरा लागेका घर बिक्री हुन समस्या हुने र बिक्री गर्दा न्युन मूल्य आउने भएकाले यो अर्को चुनौती रहेको उनका भनाइ छ ।
समयमै नियन्त्रण गर्न नसके एक रानी धमिराले कोरलेका ३ हजार बच्चा एकै पटक काठ सिध्याउन तयार रहेका हुन्छन् ।
धमिराको समस्या सुन्दै आएका हरियाली विराटनगरका अभियन्ता पारूल क्षेत्री अहिले विराटनगरमा धमिराको समस्या महामारी जस्तै फैलिएकाले महानगरपालिकाले तत्काल चासो लिनुपर्ने माग गर्छन् ।
‘धमिरा मार्न कतिपयले मट्टीतेल प्रयोग गर्छन्, घरमा आगलागी भएका घटना पनि सुनेका छौं’ उनले भने । यो प्रकोप नियन्त्रणमा महानगरले छिट्टै पहल पहल थाल्नु पर्ने उनको माग छ ।
केही घरधनीले कागजात, फर्निचर र भण्डारण गरिएका सामग्रीमा समेत नोक्सानी पुगेको बताएका छन् । कीट नियन्त्रण प्राविधिकहरूका अनुसार विराटनगरमा चिस्यान, नहर र अव्यवस्थित ढल प्रणालीका कारण जमिनमा चिसो बढी हुने, जसले धमिरा फैलिन सहज बनाउँछ ।
‘हावामा चिस्यान धेरै भएका बेला धमिरा तीव्ररूपमा फैलिन्छन्, र साधारण घरेलु उपायले नियन्त्रण गर्न कठिन हुन्छ’ सिग्देलले भने ।
मुख्य असर बाक्लो बस्ती, रोडछेउ, सडक छेउका पुराना घर, व्यावसायिक गोदामहरूमा देखिएको छ । यसका लागि स्थानीय सरकारले औषधिको ब्यवस्था गर्दै सचेतना फैल्याउनुपर्ने स्थानीयवासीको माग छ ।
धमिराको प्रकोप निरन्तर बढ्दै गएमा घरको संरचनामै दीर्घकालीन असर पर्न सक्ने भन्दै विशेषज्ञले घरधनीलाई समयमै उपाय अपनाउन आग्रह गर्ने गरेका छन् ।
विराटनगरमा नयाँ भवन बनाउने अग्रणी संस्था कान्तिपुर इन्जिनीयरिङका संचालक प्रेम बस्नेत घर निर्माण अगावै जमिनबाटै धमिराको उपचार गर्न सुझाव दिन्छन् ।
कतिपय घरधनी धमिराको समस्याले घर भत्काउने अवस्थामा पुगेको बताउदै उनले एक घरमा यसको समस्या देखिए छिमिकीको घरमा फैलन केही दिन पनि नलाग्ने चेतावनी दिए । धमिराको समस्या भएका घरधनीलाई विराट पेष्ट कन्ट्रोलले निःशुल्क परामर्श दिन मोबाइल नम्बर ९८५२०७६१०२ सार्वजनिक गरेको छ ।
View : 406
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved