Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

खाँदबारी–किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८२, आइतवार

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको १० किलोमिटर सडकखण्डको ट्रयाक सेनाले खोलिसकेको छ ।

उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ ।

उक्त खण्डको १० किलोमिटरमध्ये छ दशमलव पाँच किमी सडकको स्तरोन्नति भइसकेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए ।

खाँदबारी–किमाथाङ्का सडकखण्डमा सेनाले साउन महिनायता मात्र एक हजार १२५ मिटर सडक स्तरोन्नति गरिसकेको छ ।

सेनाले उक्त सडक यो वर्ष चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने जनाएको छ । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको छ ।

‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएपछि सेनाले हटाउन थालिसकेको छ ।

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ ।

कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।

सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको छ ।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बरुण नदीको पुल सञ्चालन भएपछि खाँदबारीबाट भोटखोला गाउँपालिका केन्द्र हुँदै च्याम्ताङसम्म यातायात सञ्चालन हुने भएको छ ।

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ ।

सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ५७ करोड खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । रासस

View : 333

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved