सुनसरी । अपाङ्गता भएका व्यक्तिहरूका लागि कोशी प्रदेशबाट निःशुल्क कृत्रिम हात वितरण कार्यक्रम सुरु गरिएको छ ।
करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्य तथा प्रदेश तथा स्थानीय तहहरूको समन्वयमा कोशी प्रदेशबाट कार्यक्रम सुरु गरेको हो ।
पहिलो चरणमा सोमबारबाट इटहरीमा सुरु कार्यक्रमको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरेका छन् ।
देशभरका ४ सय २८ जनालाई कृत्रिम हात वितरण गर्ने घोषणा गरेको फाउण्डेसनले कात्तिक २६ गतेसम्म पहिलो चरणमा कोशी प्रदेशका दुई सय चार जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने निर्देशक योगेन्द्र गिरीले जानकारी दिए ।
जसअन्तर्गत भोजपुरका १०, इलामका ३, झापाका ५८, खोटाङका २५, मोरङका १३, ओखलढुङ्गाका १७, पाँचथरका २१, सोलुखुम्बुका १५, सुनसरीका ६, तेह्रथुमका २ र उदयपुरका २५ जना अपाङ्गता भएका ब्यक्तिहरूका लागि कृत्रिम हात जडान गरिने फाउण्डेशनले जनाएको छ ।
जर्मन, न्यूजिल्याण्ड र युगाण्डाका विज्ञहरुद्धारा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका हुने जनाइएको छ ।
कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउने विज्ञहरूको भनाइ छ ।
View : 225
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved