विराटनगर । ‘जान्नेलाई छान्ने’ भन्दै नयाँ शक्तिको नारा बोकेर संसद् छिरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ–२ का सांसद कृष्णकुमार कार्कीको एक गम्भीर कृत्य सार्वजनिक भएको छ ।
सुशासन, नैतिकता र जवाफदेहिताको दुहाई दिएर नथाक्ने रास्वपाकै सांसद कार्कीको पछिल्लो हर्कतले आफूहरू लज्जित बनेको भन्दै मोरङ २ का मतदाताले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो समय पुराना सबै खराब र आफूहरू मात्रै ठीक भन्दै संसद् र सडकमा उपदेश दिने नयाँ भनिने नेताहरू नै कतिसम्म अनैतिक धन्दा र गैरजिम्मेवारीपनमा लिप्त छन् भन्ने कुराको प्रमाण सांसद कार्कीको यो काण्डले पुष्टि गरेको भन्दै अहिले सामाजिक सञ्जालमा ठूलो चर्चा भइरहेको छ ।
सांसद कार्कीले एक विदेशी युवतीलाई प्रेमको जालमा पारेर, गर्भवती बनाएर अहिले अलपत्र पारेको तथ्य बाहिरिएपछि उनी विवादमा परेका छन् ।
काठमाडौंको ठमेलमा बस्दै आएकी २६ वर्षीया नाइजेरियाली महिला र सांसद कार्की लामो समयदेखि ‘लिभिङ रिलेसनसिप’मा थिए ।
ती महिलाका अनुसार उनको चाहना नहुँदा नहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका थिए । जब उनी गर्भवती भइन्, उनले सुरूमा गर्भपतन गर्ने सोच बनाएकी थिइन् ।
तर, कार्कीले भावुकताको नाटक र इमोसनल ब्ल्याकमेल (भावनात्मक शोषण) गर्दै ‘यस्तो कुरा नगर, मलाई रून मन लाग्छ’ जस्ता म्यासेज पठाएर उनलाई गर्भ फाल्नबाट रोकेका थिए ।
आफू बुवा बन्न लागेकोमा धेरै खुसी भएको भन्दै कार्कीले ती युवतीलाई ढाडमा बोकेको, ड्राइभिङ सिकाएको तथा ‘माई वाइफ, माई लाइफ’ र ‘माई लभ’ जस्ता शब्दहरू प्रयोग गरेर म्यासेज पठाएका डिजिटल प्रमाणहरू सार्वजनिक भएका छन् । अस्पतालको अभिलेखमा समेत पतिको नाम कृष्ण कार्की नै उल्लेख भएको बताइएको छ ।
आफ्नी श्रीमती भन्दै फकाउने कार्की युवतीको पेट बढ्दै गएपछि र प्रसूतिको समय नजिकिदै जादा एकाएक टाढिएर सम्पर्कविहीन बनेका छन् ।
यसैबीच, यो अनैतिक कृत्यको चौतर्फी आलोचना र समाचार सार्वजनिक हुन थालेपछि सांसद कार्की सोमबारको संसद् बैठकबाटै भागेका छन् ।
प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले पम्प्लेटसहित प्रदर्शन र रोस्ट्रम घेराउ गरेपछि सभामुख डोलप्रसाद अर्यालले कारबाहीको चेतावनी दिदै शून्य र आकस्मिक समय अगाडि बढाएका थिए ।
आकस्मिक समयमा बोल्नका लागि सांसद कार्की आफैंले संसद् सचिवालयमार्फत नाम टिपाएका थिए ।
एमालेका सांसद कृपाराम रानाथारूले सुशासनको विषयमा सरकारलाई घेरेलगत्तै कार्कीको बोल्ने पालो थियो ।
सभामुख अर्यालले रोस्ट्रमबाट कम्तीमा तीन पटकसम्म ‘माननीय सदस्य कृष्णकुमार कार्की’ भन्दै नाम बोलाए पनि आफ्नो कर्तुतको छनक पाइसकेका कार्की संसद् भवनमै उपस्थित भएनन् र उनी अनुपस्थित भएपछि सभामुखले अर्का सांसद केपी खनाललाई बोल्ने पालो दिएका थिए ।
रास्वपाले टिकट दिएर ‘माननीय’ बनाएका कार्कीको पृष्ठभूमि सुरूदेखि नै विवादित र आपराधिक प्रकृतिको रहेको इतिहास छ ।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की विगतमा प्रहरी झडपमा मारिएका गुण्डानाइके दिनेश अधिकारी (चरी) को ग्याङमा आबद्ध थिए र चरीको अन्त्यपछि उनी जापान भासिएका थिए ।
लामो समय जापान बसेर फर्किएलगत्तै भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित देशको ऐतिहासिक धरोहर संसद् भवन तोडफोड र आगजनी गर्ने कार्यमा उनी प्रत्यक्ष संलग्न थिए ।
सुरक्षाकर्मीको हतियार खोसेर संसद् भवनअगाडि अर्धनग्न प्रदर्शन गरेको र संसद्कै कुर्सी तथा दलका नेताहरूको घर जलाएको भिडियो उनले आफैं सामाजिक सञ्जालमा गर्वका साथ सेयर गर्दै उक्त अपराध स्वीकारेका थिए ।
देशको सम्पत्ति जलाउने यस्ता उग्र व्यक्तिलाई रास्वपाले टिकट दिएको भन्दै त्यतिबेलै चर्को आलोचना भएको थियो ।
यद्यपि, फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले यिनै विवादित कार्कीलाई मोरङ क्षेत्र नम्बर २ को टिकट दियो र वैदेशिक रोजगारीबाट फर्किएका कार्कीले परिवर्तनको लहरमा ४० हजार ९ सय २४ मत प्राप्त गरी विजयी बने ।
उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियालाई (जसले १४,६२४ मत ल्याए) र नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाललाई (जसले १२,६६४ मत ल्याएर तेस्रो स्थानमा खुम्चिए) निकै ठूलो मतान्तरले पराजित गरेका थिए ।
अहिले संसद् बैठक चलिरहेकै छ र रास्वपाले आफ्ना माननीयहरूलाई होटल र स्टाफ कलेजहरूमा थुनेर अनुशासन र सुशासनको विशेष तालिम पनि दिइरहेकै छ ।
तर, एकातिर अनुशासनको रट लगाउने र अर्कोतिर आफ्ना सांसदले विदेशी महिलालाई बिचल्ली पारेर फरार हुने यो विरोधाभासले रास्वपाको असली अनुहार छताछुल्ल पारेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
View : 1035
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved