विराटनगर । धरानका मेयर हर्क साम्पाङ सोमबार काठमाडौंमा मख्ख देखिन्थे । काठमाडौं विमानस्थलमा समर्थकहरूले स्वागत गरेपछि उनी उत्साही बनेको उनकै फेसबुक स्टाटसले देखाउँथ्यो ।
उनले सोमबार लेखे ‘कुनै दिन राजधानीमा हर्क साम्पाङ जिन्दाबादको नारा घन्किनेछ भनी मैले सोचेको थिइन । सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’
सोमबार काठमाडौं विमानस्थलमा उनलाई समर्थकहरूले स्वागत गर्दै मोटरसाइकल ¥याली नै निकालेका थिए ।
आफ्नो पक्षमा राजधानीमै नारा गुञ्जिएको सुनेपछि खुसी भएका मेयर साम्पाङले त्यो खुसी नलुकाई सार्वजनिक गरेका थिए ।
यसरी आफूले काठमाडौंमा पाएको स्वागत र आफ्नो नाममा जिन्दावादको नारा लागेर मख्ख देखिएका साम्पाङको आफ्नै गृहनगर धरान भने यतिबेला बजेटसमेत ल्याउन नसकेर थलिएको छ ।
एकपछि अर्को विवादले अनिश्चित बनेको उपमहानगरको बजेट ल्याउने उपाय पहिल्याउन छाडेर मेयर साम्पाङ र्यालीमा स्वागत थाप्दै हिंडेपछि धरानमा त्यसबारे चर्चा सुरू भएको छ ।
‘आफूले नेतृत्व गरेको उपमहानगर अहिलेसम्म बजेटविहीन बनेको तथ्यलाई देखेको नदेख्यै गर्दै मेयर आफ्नो स्वागत र्यालीमा मख्ख परेको लज्जास्पद दृश्य देखियो’, उपमहानगरका एक जनप्रतिनिधिले भने ‘यसले काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर जस्तो देखियो । मेयरको यो शैलि जिम्मेवार भएन ।’
नयाँ आर्थिक वर्ष सुरू भएको डेढ महिना बितिसक्दा पनि धरानमा बजेट आउने कुनै टुंगो छैन । पहिले मेयर–उपमेयरको असमझदारीले आउन नसकेको बजेट विवादमा अहिले एमाले पनि थपिएको छ ।
धरानको नगर कार्यपालिकामा एमालेसँग बहुमत छ । उसैले पछिल्लो कार्यपालिका बैठक बहिष्कार गरे पनि मेयर साम्पाङले बजेट पारित भएको घोषणा गरेका थिए । एमालेले मेयरको घोषणा नमान्ने बताइरहेको छ ।
डेढ महिनादेखि आफूले नेतृत्व गरेको नगर सरकार बजेट होलिडेको समस्यामा रहेका बेला पनि मेयर साम्पाङले भने समस्याको संवेदनशीलता नबुझेको गुनासो धरानका कर्मचारीहरू गर्दछन् ।
‘टिम नेताका रूपमा अहिलेको समस्या समाधानको दायित्व उहाँको हो’, धरानका एक कर्मचारीले भने ‘तर, उहाँ नगरमा केही समस्या नै छैन भने जसरी हिंडिरहनु भएको छ । यो जिम्मेवार जनप्रतिनिधिले गर्ने काम होइन ।’
केही जनप्रतिनिधिले मेयरको शैलिप्रति असन्तोष प्रकट गरे पनि उपमेयर अइन्द्रविक्रम बेघाले भने केही दिनका लागि मेयर काठमाडौं गएको र यसलाई असामान्य रूपमा लिनु नपर्ने बताए ।
‘उहाँ तीन चार दिनका लागि काठमाडौं जानुभएको हो’ उनले भने ‘उहाँको आफ्नै केही कार्यक्रमहरूमा जानुभएको हो ।’
मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच बजेट ल्याउने सवालमा मतैक्यता देखिएपछि कार्यपालिकाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को असन्तोषले बजेट अहिले अनिश्चित भएको छ ।
कानुन अनुसार असार १० भित्र ल्याउनुपर्ने बजेट धरानमा अहिलेसम्म आउन नसक्नुको कारण जनप्रतिनिधिबीचको विवाद हो । पहिले मेयर साम्पाङले श्रमदानको बिल भुक्तानी गर्न खोजेको भन्दै उपमेयर बेघाले असहमति जनाएका थिए ।
आफूले पेस गरेको बिल पास नभए कसैको पास नगर्ने अड्डी मेयरले लिएका थिए । त्यही विवाद बढेपछि असार १० आसपास धरानमा मेयर र उपमेयर आमनेसामने भएका थिए । समर्थकहरू झडपमै उत्रिएका थिए ।
त्यसपछि लामो समय बजेटबारे कुनै छलफल नै हुन नसकेको धरानमा साउन मध्यबाट भने कुराकानी फेरि सुरू भएको थियो । त्यही क्रममा सीमा निर्धारण समितिले बजेट सिलिङ तोक्ने काम गरेपछि बुधबार कार्यपालिका बैठक भएको थियो ।
बैठकमा एमालेका जनप्रतिनिधिले मेयर र उपमेयरका नाममा राखिएको कोष र भिजन कोषको विरोध गरेका थिए ।
बुधबार सहमति नभएपछि शुक्रबारलाई बैठक डाकिएको थियो । शुक्रबारको बैठकमा एमालेका जनप्रतिनिधिहरूले पाँच बुँदे माग राख्दै बजेट पुनः लेखन गर्नुपर्ने माग गरेका थिए ।
एमालेले पाँच बुँदे पत्रमा घाटा बजेट स्वीकार गर्न नसक्ने, करको दर अत्यधिक वृद्धि गरिएको, राजस्व परामर्श समितिले दिएको राय विपरीत आफूखुसी करको दर बढाइएको भन्दै विरोध गरेको छ ।
राजस्व परामर्श समितिले १ अर्ब ६० करोड सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको एमालेको भनाइ छ ।
एमालेले मेयर, उपमेयर कोष र मेयर उपमेयर भिजन कोष, कार्यपालिका सदस्यको कोष जस्ता अबण्डा कोषहरू खारेज गर्न पनि माग गरेको छ ।
View : 498
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved