Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

वनमा डढेलो, सदरमुकाममा पञ्चेबाजा र्‍याली

उद्घोष सम्वाददाता
५ चैत २०८०, सोमवार

विराटनगर । सुख्खा मौसमका सुरु भएसँगै वन डढेलो फैलिँदै गएको बेलामा उदयपुर सदरमुकाम गाइघाटमा भने डढेलो सचेतनाका लागि भन्दै सचेतना र्‍याली र कोण सभा गरिएको छ । डिभिजन वन कार्यालय गाइघाटले पञ्चेबाजासहितको र्‍याली निकालेको हो ।

सदरमुकाम गाइघाट आसपासका विभिन्न सामुदायिक वन उपभोक्ता समुह र नागरिक समाजको उपस्थितिमा डढेलो सचेतनाका लागि भन्दै सोमबार र्‍याली र कोणसभा गरिएको जनाइएको छ ।

डिभिजन वन कार्यालय गाइघाट अन्तरगत त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाभित्र समुदायले व्यवस्थापन गरेका २०७ वटा सामुदायिक र राष्ट्रिय वनको गरी करिव ७५ हजार हेक्टर वन क्षेत्र रहेको छ ।

सुख्खा मौसम सुरु भएका कारण वन डढेलो समेत सुरु भएको जनाइएको छ । वन डढेलो बस्तीमा फैलिँदा अहिले कोशी प्रदेशकै धेरै स्थानका वस्ती नै आगलागी भएर सखाप भएका छन् । 

तर डिभिजन वनले भने स्थानीयस्तरमा डढेलो नियन्त्रणको उपाय खोज्नुभन्दा सदरमुकाम केन्द्रित र्‍याली र कोण सभा आयोजना गरेको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले डढेलोको औपचारिक तथ्यांक प्राप्त हुन नसकेको बताए । उनले धेरै स्थानमा डढेलो लागेको अनौपचारिक जानकारी आएपनि तथ्यांक भने तयार नभएको सुनाए । 

लामो समयदेखि पानी नपरेका कारण जंगलमा डढेलो लाग्न थालेकोले समुदायको सचेतनाका लागि डिभिजन वनको आयोजनामा र्‍याली र सदरमुकाम गाइघाटमा कोणसभा गरिएको जानकारी दिए ।

‘औपचारिक रुपमा कतैबाट आएको छैन, तर धेरै ठाउँमा डढेलो सुरु भएको छ, हामी त्यसको विवरण अपडेट गर्दैछौँ’ उनले भने, ‘डिभिजन कार्यालयमा वन डढेलो सप्ताह भन्ने शीर्षक रहेकोले थोरै बजेटबाट भएपनि सचेतना कार्यक्रम गरेका छौं, सहभागिता थोरै भएपनि सन्देश दिन सफल भएका छौं ।’

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयमा बजेट समेत नभएको उनले बताए । डढेलोसम्बन्धी सचेतना फैलाउनकै लागि करिव ८ किलोमिटर हिँडेर र्‍याली र कोण सभा गरिएको उनले जानकारी दिए ।

View : 119

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved