Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश निजामती सेवा ऐन संशोधनको माग

उद्घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । कोशी प्रदेशसभाले हालै पारित गरेको प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रति जनता समाजवादी पार्टी कोशी प्रदेशले असहमति जनाएको छ । जसपा कोशी प्रदेशले सो विधेयक संशोधनका लागि  दबाबमूलक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

जसपा कोशी प्रदेशका सचिव अनिल कुमार ठाकुरले  विधेयकमा जनसंख्याको आधारमा मधेशी कोटा नछुट्याएको भन्दै आपत्ति जनाएका छन् ।

विधेयकमा मुस्लिम, थारु, दलित र महिला कोटा भनेर छुट्टाछुट्टै कोटा छुट्याइएको छ । तर महिलाका लागि भनेर ३३ प्रतिशत छुट्टयाइए पनि  दलित, मुस्लिम, थारु र मधेसी महिला सो कोटामा  नपर्ने र दलित आदिवासी भनेर छुट्याइएको कोटामा पनि मधेसी दलित र तराईका आदिवासी जनजाति प्रतिस्पर्धा गर्न नसक्ने ठाकुरले बताए ।

हालै पारित भएको सो विधेयक मधेसी तथा दलित महिला, मुस्लिम महिला, थारु महिला एवं जनजाति महिला बिरोधी रहेको उनको आरोप छ । 

नेपालको संविधान २०७२ ले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको अवस्थामा कोशी प्रदेशमा रहेको मधेशी समुदायको जनसंख्या १४.२६ प्रतिशत रहेकोमा ५ प्रतिशत मात्र आरक्षण कोटा छुटाइएको भन्दै उनले  सो विधेयक सच्याउन पार्टीले चाँडै नै दबाबमूलक विरोधका कार्यक्रम गर्ने ठाकुरको भनाइ छ ।

केही दिन अघि गठित संघर्ष समितिले सो विधेयक संशोधन गर्न माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीलाइ ज्ञापनपत्रसमेत दिएका थिए ।

View : 297

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved