Biratnagar, Morang, Nepal
३० वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विश्व नर्सिङ दिवस

निस्वार्थ सेवाको अविस्मरणीय सन्देश

सन्तोष आचार्य
२९ वैशाख २०८२, सोमवार

भन्छन्, ‘भगवान सबै ठाउँ पुग्न सक्दैनन्, त्यसैले उहाँले आमाको रूपमा आफ्नो प्रतिरूप प्रत्येक घरमा पठाएका छन् ।’ जन्मदिने आमा जस्तै, धर्तीमा अवतरण हुने बेलामा मानिसको पहिलो स्याहार र संरक्षण गर्ने ‘देवी’ भनेकी नर्स नै हुन् ।

नर्सहरू जीवनको पहिलो स्पर्शदेखि अन्तिम क्षणसम्म निरन्तर साथ दिइरहने ती निस्वार्थ पात्रहरू हुन्, जसको सेवाभाव र समर्पणले हामीलाई जीवनको हरेक मोडमा हिम्मत र सहारा प्रदान गर्छ । संसारका सबै नर्सहरूको श्रद्धा पात्र स्रोत फ्लोरेन्स नाइटिङ्गेल, जसलाई ‘दीप लिएकी दिदी’ (लेडी विद अ ल्याम्प) भनेर उच्च सम्मान दिइन्छ — उहाँको प्रेरणाले जन्मिएको यो पेशा आज विश्वमै सबैभन्दा गरिमामय र भरोसायोग्य सेवामध्ये एक मानिन्छ ।

आज, १२ मे अर्थात विश्व नर्सिङ दिवस । तर दुखको कुरा के छ भने, यति महान पेशा जसले सन्तानको जीवन रक्षा र स्वास्थ्य सुधारको पहिलो र अन्तिम जिम्मेवारी लिन्छ, त्यही पेशा अझै पनि धेरै ठाउँमा उचित मूल्यांकनबाट वञ्चित छ । फेसबुकका वालहरू खाली छन्, भाषणहरू मौन छन्, अनि देशको सम्बोधनमा कतै नर्सहरूको गाथा सुनिन्न ।
तर हामी बुझ्न जरुरी छ :  ‘प्रत्येक घरमा कम्तीमा एक जना नर्सको खाँचो छ ।’

रोगको सुरुआतमा नै प्राथमिक जानकारी र सल्लाह मिलेको भए, कति जीवनहरू बच्न सक्थे होलान् केवल उपचार होइन, आहार, पोषण र मानसिक सान्त्वनाको ज्ञानको अभावले मानिसहरू अल्प आयुमा मृत्युको मुखमा पुगेका थुप्रै उदाहरण हामी सामु छन् ।

त्यही कारणले, अबको पुस्तालाई हामीले सेवामूलक र आत्मसन्तुष्टि दिने नसिंङ पेशातर्फ प्रेरित गर्नुपर्छ । नर्स बन्नु केवल पेशा होइन, त्यो त एउटा आध्यात्मिक कर्म हो — जहाँ अर्काको पीडामा आफ्नो सन्तोष खोजिन्छ ।

कोरोना महामारीको भयावह समयमा नर्सहरू सबैभन्दा अगाडि थिए,  आफ्नै जीवनको जोखिममा, हजारौंलाई जीवनदान दिंदै । यस्तो अगाडिको पक्तिका योद्धा (फ्रन्टलाइन वारियर) प्रति उच्च सम्मान व्यक्त गर्न हामी हरेक नागरिकको कर्तव्य हो । तर, वास्तविकता के छ भने, जब तलब, सेवा सुविधा र सुरक्षाको कुरो आउँछ — तब यिनै नर्सहरू बेवास्ताको शिकार हुन्छन् ।

नेपालमा हजारौं नर्सहरू न्यून पारिश्रमिक, करार वा स्वयम्सेवकमा काम गरिरहेका छन् । महिनौसम्म तलब नपाउने, कामको अधिक भार, मानसिक तनाव र असुरक्षित सेवा अवस्थाले गर्दा अन्ततः उनीहरू विदेश पलायन हुन बाध्य छन् । लाखौं खर्चेर पढेपछि आफ्नै देशमा अवसर नपाउँदा कसले सम्हाल्ने आफ्ना बुढाबुढी बाबुआमा र साना नानीहरूको स्वास्थ्य ?
तर, यिनै चुनौतीका बीच पनि नेपालमा थुप्रै फ्लोरेन्स नाइटिङ्गेल र मदर टेरेसा जस्तै समर्पित नर्सहरू अझै पनि छन्, जसले देशको माटोमै सेवा गर्ने अठोट लिएका छन् । उनीहरूको यो योगदानको शब्दले भन्दा बढी मनले सम्मान गरिनुपर्छ ।

आज, यस नर्सिङ दिवसमा, केवल औपचारिक शुभकामना होइन, राज्य, समाज र नागरिक तहबाट व्यवस्थात्मक सुधार, आकर्षक पारिश्रमिक र सुरक्षित सेवाको सुनिश्चितताको प्रतिबद्धता आवश्यक छ ।

नर्सहरूलाई सम्झनु केवल एक दिनको काम होइन । उनीहरूको योगदान त हरेक क्षणमा, हरेक जीवनको हरेक सासमा समाहित छ ।
नर्सिङ दिवस केवल एक दिवस होइन — यो त सेवा, माया र मानवताको अमर स्मृति हो ।
 

View : 235

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved