Biratnagar, Morang, Nepal
३० वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरका किरात राईले मनाए उभौली पर्व

उद्‌घोष सम्वाददाता
२९ वैशाख २०८२, सोमवार

विराटनगर । किरात राई समुदायले आफ्नो परम्परागत धार्मिक तथा सांस्कृतिक चाड उभौली पर्व सोमबार विराटनगरमा विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाएका छन् । प्रकृति पूजा, साकेला सिली नाच, भूमि पूजा तथा सामूहिक भेलासहित पर्वको उत्सव भव्य रूपमा सम्पन्न गरेका हुन् ।

उभौली उधौली पर्व किरात राई समुदायले वर्षमा दुई पटक साकेला नृत्यसहित मनाउने गर्दछन् ।  जुन विशेषगरी हिउँद र गर्मी याम सुरु हुनुअघि मनाइन्छ । पर्वको मुख्य उद्देश्य प्रकृतिलाई सम्मान गर्दै वर्षभरी राम्रो बाली भइदियोस् भनी पूजा अर्चना गर्नु हो ।

यसै क्रममा विराटनगर–११ स्थित साकेला थानमा सयौंको संख्यामा किरात समुदायका सदस्यहरू परम्परागत सांस्कृतिक पोशाकमा सुसज्जित भई साकेला सिली नाचमा सहभागी भए । उनीहरूले ढोल, झ्याम्टा र मादलको तालमा गोलो घेरामा उभिएर  खेत जोत्नेदेखि अन्न बोक्ने जस्ता कृषि क्रियाकलापहरूमा अभिनय गर्दै नाचे ।

साकेला सिली नाच किरात धर्मशास्त्र ‘मुन्धुम’ अनुसार आदिकालदेखि चलिआएको सांस्कृतिक अभ्यास हो जसले मानिस र प्रकृतिको सम्बन्धलाई उजागर गर्छ ।

किरात राई यायोक्खाको अगुवाइमा सञ्चालित सो कार्यक्रममा विभिन्न स्थानीय संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । पर्वको अवसरमा धर्मगुरुहरूले किरात धर्मको महत्व, प्रकृति संरक्षणको आवश्यकता र नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउने विषयमा मन्तव्य दिएका थिए ।
 

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved