Biratnagar, Morang, Nepal
३० वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

कोशी लगानी सम्मेलन

विकासको सांस्कृतिक अवधारणा

विश्व प्रतिस्पर्धाको विकासमा आफ्नो मौलिकता र पहिचान सहितको विकासमा कोशी प्रदेश चुक्न हुन्न ।  आधुनिकता भित्र मौलिकता झल्कने विकासले नेपालको अस्तित्वलाई बचाइ राख्छ । यात्रा गर्दा बाटोमा देखिने पाटीपौवा, फलैंचा, चौतारी र छहारीको मौलिकता क्रमशः हराउँदै जाँदा नेपालीपन पनि गुमाउँदै गएका छौं । रैथाने बाली, खाद्यान्नहरुको स्थानमा चाउचाउ, बर्गर, फिङ्गर चिप्सले विस्थापित गरिसकेको अवस्थामा हाम्रा थकाली र मौलिक परिकारका खाना प्रवर्धन गर्न सक्नु पर्छ ।
प्रमिल अधिकारी
२९ वैशाख २०८२, सोमवार

कोशी प्रदेश सरकारले ऐतिहासिक सफल मानेको लगानी सम्मेलनले विकासको नयाँ आयाम थपेको छ । एक खर्ब ५२ अर्ब १६ करोडको आन्तरिक लगानीको वातावरण बनाउँदै सम्मेलन समापन गर्नु मात्र उपलब्धी थिएन, प्रदेश सरकारले विकास प्रतिको प्रतिवद्धता र नीजि क्षेत्रको लागि गरिएको प्रोत्साहन महत्वपूर्ण थियो । 

कोशी प्रदेश विकासमा अन्य सात प्रदेशको तुलनामा तेस्रो स्थानमा छ तर विकासको सम्भावना र कार्य कुशलतालाई आधार बनाउने हो भने कोशी प्रदेश विकास र समृद्धिको नमुना हुने अवसरहरू छन् । विकासको नयाँ मोडेल निर्माण गर्न कोशी प्रदेश नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने आधार प्रर्याप्त छन् । कोशी प्रदेश लगानी सम्मेलन र पर्यटन वर्षले कोशी प्रदेशले विकासको युगको ढोका खुलाएको छ ।

 विकासको आफ्नै लयमा हिंडिरहेको कोशी प्रदेशले गति बढाएको छ । लामो राजनीतिक गतिरोध र अस्थिरताको प्रभावले विकास क्षेत्रमा परेको नकारात्मक प्रभावलाई कोशी लगानी सम्मेलनले चिर्न सफल भएको सन्देश देशब्यापी दिएको छ । साथै कोशी प्रदेशले खुलारूपमा विकास र समृद्धिको लक्ष्य प्राप्तीको लागि अन्य प्रदेशलाई चुनौती दिएकोछ । 

कोशी प्रदेशको विकासको आधार नै जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार हो । कोशी प्रदेशले गरेका राम्रा कार्यले नेपाललाई नै सन्देश दिने गरेको विगतको अभ्यास छ । लगानी सम्मेलनले पनि देशब्यापी सकारात्मक सन्देश प्रवाह गरको छ । विकासका सम्भावना तुलनात्मकरूपमा कोशी प्रदेशमा बढी छन् । आर्थिक विकास, सामाजिक रूपान्तरण, न्यायिक निरूपणमा कोशी प्रदेशको भूमिका अग्रणी छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधता कोशी प्रदेशको अनुकरणीय प्राकृतिक देन हुन् । 

पर्यटन प्रवर्द्धन, यातायात, सांस्कृतिक क्षेत्र, अलैची, चिया, दूध उत्पदान तथा पुाजी परिचालनबाट कोशी प्रदेशले पर्याप्त आर्थिक विकास गर्न सक्न सक्छ । जलविद्युत लगानीको सम्भावना अपार छ । साथै सामाजिक रूपान्तरणमा मानिसका आवश्यकता र बुझाइ अन्य प्रदेशको तुलनामा कोशीमा उच्च देखिन्छ जस्लाई प्रदेश सरकारले विकासको मेरूदण्डको रूपमा प्रयोग गर्न आवश्यक छ । 

सगरमाथासहित ८ हजार भन्दा माथिका ५ वटा उच्च हिमश्रृङ्खला, पाँच हजार मिटरभन्दा माथिका ३५ वटा हिमालहरू कोशी प्रदेशमै छन् । नेपालका धेरै हिमाल मध्ये पर्वतारोहीका मुख्य आकर्षण र साहसिक पर्यटनको लागि यो प्रदेश उपयुक्त मानिन्छ । 
किमाथान्का नाका हुँदै चीनसँगको ब्यापारको सम्भावना कोशी प्रदेशमै छ । भारत र बङ्लादेशजस्ता ठूला जनघनत्वका देशहरू कोशी प्रदेशको सामिप्यताले प्रचुर फाइदा उठाउन सक्छ ।  सामुन्द्रिक सतहबाट कम उचाईमा रहेको कचनकवल पनि कोशीमा नै रहेको छ । पदमार्ग, अतिथि देवो भवः, विश्वकै मौलिक तथा पुरानो आदिम किराँत सभ्यता कोशी प्रदेशकै क्षेत्र हो । राजनीतिक पृष्ठभूमिमा कोशी प्रदेशले नेपालको राजनीतिलाई नेतृत्व गरेको इतिहास छ । नेपाली कांग्रेसले राणा शासन विरूद्ध अन्दोलनको घोषणा गर्दा होस् या कम्युनिष्ट आन्दोलनको जग, दुबै कोशी प्रदेशबाट नै भएको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रूपमा पनि कोशी प्रदेश प्रसिद्ध छ । 

कोशी प्रदेशले आब २०८० ८१ मा ३.५१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो जुन राष्ट्रिय औसत भन्दा ०.३६ प्रतिशतले कमी हो । कुल गार्हस्थ्य उत्पादानमा कोशी प्रदेशको लगानी करिब १३.१ प्रतिशत छ । जुन बाग्मती र लुम्बीनी पछिको तेस्रो स्थानमा रहेको छ । मानव विकास सूचकमा कोशी प्रदेश ०.५९८ रहेको छ ।

प्रतिब्यक्ति आय डलर १३३६ सहित देशभरी तेस्रो स्थानमा देखिन्छ । साथै प्रतिस्पर्धात्मक सूचकमा कोशी प्रदेश बाग्मती प्रदेश पछि नवप्रवर्तन, मानवपुँजी, पूर्वाधार विकासमा दोस्रो स्थानमा देखिन्छ । साथै आब २३–२४ मा कोशी प्रदेशको कार्यसम्पादनमा ४०.८९ अंकसहित अन्य सात प्रदेश भन्दा पहिलो स्थानमा रहेको छ । त्यसैले मानव विकास, आर्थिक विकास र प्रशासनिक कार्यमा कोशी प्रदेशले पर्याप्त विकास गरेको देखिन्छ । कृषि उत्पादनमा करिब २१.६ प्रतिशत योगदान छ । कोशीमा करिब ७५ प्रतिशत मानिस कृषिमा आवद्ध छन् । कोशी प्रदेशको उत्पादन चिया ९९.१७ प्रतिशत, अलैंची ९३.४७ प्रतिशत, अदुवा ३४.७२ प्रतिशत, आलु ३३.९३ प्रतिशत राष्ट्र ढुकुटीमा योगदान गरेको छ । 

विकास एक बहुआयामिक पक्ष हो । न्यायोचित र समातामूलक विकासको अवधारणालाई कोशी प्रदेशले वकालत गर्न सक्ने आधार पर्याप्त देखिन्छन् । भौतिक विकासमात्र होइन मानवीय पुँजी विकास, सांस्कृतिक तथा समतामुलक विकासको अवधारणामा कोशी प्रदेशले दिन सक्ने सन्देशहरूलाई विश्वसामु प्रदर्शन गर्न कोशी प्रदेशको लागि अवसर छ । यसको लागि स्थानीय र प्रदेश सरकारको ठोस नीति तथा कार्यक्रमलाई अभियानको रूपमा चलाउनु पर्ने देखिन्छ । स्थानीय तथा प्रदेश सरकारले विकासको अवसर र लयलाई समन्वयकारी ढंगले प्रभावकारी बनाएर लानु पर्ने देखिन्छ । 
कोशी प्रदेश विकासको लागि निजी क्षेत्रको लगानीसहित विकास साझेदारको भूमिका झन् महत्वपूर्ण रहन्छ । विकासको लागि निजी साझेदारिताको अभ्यासले सरकारको लक्ष्य प्राप्तिको लागि सहज हुन्छ । नेपाल सरकारको अवधारणा अनुरूप विकास साझेदार तथा निजी संस्थाहरूलाई हातेमालो गर्दै अगाडि बढ्ने नीतिलाई विकास साझेदारले पनि अंगिकार गरेको देखिन्छ । 

नेपालमा कार्यरत करिब ११३ अन्तर्राष्ट्रिय संस्थाहरू, संयुक्त राष्ट्रसंघीय निकाय तथा दाताहरूले कोशी प्रदेशको विकासमा के योगदान गर्ने भन्ने कुराको मार्गदर्शन स्थानीय, प्रदेश तथा संघीय सरकारले दिनु पर्छ । यस प्रक्रियामा विकास साझेदार निकायको पनि उत्तिकै भूमिका रहन्छ । सरकारको १५ औं आवधिक योजनाले पूरा गरेका र गर्न नसकेका विषयमा बहस हुन जरूरी छ । थप १६ औं योजनाको पूर्व सन्ध्यामा यसका कार्यन्वयनका पक्ष र प्रदेश सरकारको स्थानीयकरणको सन्दर्भमा पनि विकास साझेदारसँग सहकार्य र समन्वय अवश्यक देखिन्छ । 

कोशी प्रदेशको दोस्रो आवधिक योजनाले तय गरेका मार्गदर्शन र लक्ष्य प्राप्तिको लागि तीन तहका सरकार र सामाजिक क्षेत्रको भूमिका बहस हुन जरूरत छ । अर्को महत्वपूर्ण पक्ष नेपाल सरकारले नेपाललाई विकाशील देशको रूपमा आफूलाई स्थानान्तरण गर्दै गर्दा र दिगो विकासको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्नु पर्ने विकासका सूचकमा कोशी प्रदेशको आवश्यकताका क्षेत्रहरू पहिचान हुन आवश्यक छ । साथै लक्ष्य प्राप्तिका चुनौतीहरूलाई प्राप्तिको लागि विकास साझेदार तथा निजी क्षेत्रको लगानी र आवश्यकताको सुनिश्चित हुने वहस तथा निश्कर्ष आवश्यक छ । 
साँस्कृतिक लगानीको मार्गचित्र 

कोशी प्रदेशमा लगानीको वातावरण बन्यो भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार हुन आवश्यक देखिन्छ । लगानीको अवसर पर्याप्त छन् भन्ने सन्देशसहित सरकारले अझ नवीन, महत्वकांक्षी परियोजनाहरू सर्वाजनिक गर्न वा निजी क्षेत्रसँग सहकार्य गरी खोज अनुसन्धान निरन्तता दिनु पर्ने छ । निजी क्षेत्रको विकासले ब्यवसाय तथा पुँजी परिचालन बढ्ने, ब्यक्तिको आयस्रोत विकास हुने हुँदा सामाजिक क्षेत्रको विकाससँगै लाग्न आवश्यक छ ।

लगानी सम्मेलनले निजी क्षेत्रको ढोका खुलेसँगै सामाजिक क्षेत्रको भूमिकालाई पनि समन्वय तथा सहकार्यको वातावरण बनाउनु पर्ने देखिन्छ । हरित विकास क्षेत्र, प्राङ्गारिक विकास क्षेत्र, मौलिक सांस्कृतिक विकास क्षेत्र, पैदल यात्रा क्षेत्र, धार्मिक क्षेत्र, साहसिक पर्यटन क्षेत्र आदि विशेषता सहितको क्षेत्र तोकेर सो अनुरूपको विकासको मोडल स्थानीय तथा प्रदेश सरकारले नेतृत्व लिनु पर्दछ । संघीयता पछि संविधान अनुरूपको कानुन, नीति नबन्दा लागनीमैक्री वातावरणमा ढिलासुस्ती हुन सक्छ तर ती अन्योलता सधै स्थिर रहन्नन् । त्रमशः विकास र जनताको मागसँगै परिवर्तित हुँदै जानेछन् ।  

विश्व प्रतिस्पर्धाको विकासमा आफ्नो मौलिकता र पहिचान सहितको विकासमा कोशी प्रदेश चुक्न हुन्न ।  आधुनिकता भित्र मौलिकता झल्कने विकासले नेपालको अस्तित्वलाई बचाइ राख्छ । यात्रा गर्दा बाटोमा देखिने पाटीपौवा, फलैंचा, चौतारी र छहारीको मैलिकता क्रमशः हराउँदै जाँदा नेपालीपन पनि गुमाउँदै गएका छौं । रैथाने बाली, खाद्यान्नहरुको स्थानमा चाउचाउ, बर्गर, फिङ्गर चिप्सले विस्थापित गरिसकेको अवस्थामा हाम्रा थकाली र मौलिक परिकारका खाना प्रवर्धन गर्न सक्नु पर्छ । 

अतिथि देवो भवः को नेपाली सभ्यताले पर्यटनलाई प्रवर्धन गर्न सक्छ । साथै होमस्टे (घरबास) स्थापना, अतिथि सत्कारसेवा सीपको विकास पनि सँगै गर्नु पर्ने छ । विकासको मानक तयार गर्दा प्रविधि, शहरीकरण, औद्योगीकरण र नवप्रर्वतनमा सांस्कृतिक चेतनाको विकाससँगै गर्दै जानु पर्नेमा सरकार चुक्न हुन्न ।  
मैलिकता गुमाएका देशहरूमा हाइटीलाई लिन सकिन्छ । अफ्रिकी देशमा पहिलो स्वतन्त्र भएको देश तर औपनिवेशिकताबाट स्वतन्त्र भए पनि विदेशी सहायता र विदेशी मोडललाई प्रयोग गरिरह्यो र आफ्नो भाषा, शासन प्रणाली, कृषि विदेशी हितमा लागू भए अन्ततः आर्थिक संकट, सांस्कृतिक विहिनता र संस्थागत अस्थिरतामा फसिरहेको छ ।

 अफगानिस्तान, पपुवा न्यूगीनिलाई उदाहरणको रूपमा लिन सकिन्छ । आर्थिक विकासमा सम्पन्न सिंगापुरले पनि आफ्नो मौलिकता गुमाइसकेको छ । मौलिक भाषा अधिकांश अंग्रेजी बनिसकेको छ । क्यानडा, अष्ट्रेलिया जस्ता विकसित देशहरू आर्थिकरूपमा विकसित भए पनि उनीहरू अहिले आफ्नो सांस्कृतिक मूल्य र मौलिकताको खोजीमा भौतारिन थालेका छन् । नेपाल पनि सांस्कृतिक मूल्य र मान्यता, अभ्यासको धनी देश हो । आधुनिक विकासको नाममा नेपालको सांस्कृतिक धरोहर बचाइ राख्न सके विश्व मै भर्जिन ल्याण्ड अफ  टुरिजम (पर्यटनको मौलिक भूमि) को रूपमा चिनाउन सकिन्छ । 

नीजि क्षेत्रलाई सामाजिक क्षेत्रको विकासका लागि दायित्व सिर्जना गर्न र सो अनुरूप निर्वाह गर्न सक्ने बनाउनु सक्नु पर्छ । कल्याणकारी राज्यका अवधारणा र समाजवादको मार्गमा नीजि क्षेत्रको स्वतन्त्रताले राष्ट्र पुँजीवादको मार्गमा बढ्न सक्ने खतरा रहन्छ । तर, राज्यले नीजि क्षेत्रलाई सामाजिक लोकल्याणकारी क्षेत्रमा लाग्न अभिप्रेरित र नियन्त्रणमूखी ब्यवस्था लागू गर्न सक्नु पर्दछ । सामाजिक, मानवीय र वातावरणमैत्री विकासको मोडल कोशी प्रदेशले निर्माण गर्न सक्नु पर्दछ । पर्यावरण संरक्षण, जालवायु अनुकूलन अभ्यासको वहसहरू पनि विकाससँगै ब्यवहार रूपान्तरणमा आउन सक्नु पर्दछ । विकासलाई स्थानीय जनजीवनसँग मेल खाने, सांस्कृतिक मूल्यसहितको दिगो बन्न सक्नु फर्दछ ।

 

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved