Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

काली मन्दिरको जग्गा काली मन्दिरकै नाममा

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । उच्च अदालत विराटनगरले काली मन्दिरको जग्गा व्यक्तिको नाममा नभै मन्दिरकै हुने फैसला गर्दै विपक्षी उमादेवी ढकालले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय ध्रुवराज नन्द र नरेशकुमार चौधरीको संयुक्त इजलासले सोमबार सो रिट खारेज गर्ने फैसला गरेको हो । 

विराटनगरको मेनरोडस्थित काली मन्दिरका नामको जग्गा सोही मन्दिरका पुजारीले आफ्ना नाममा दर्ता गराएका थिए । 

फिल्ड बुकमा मन्दिरकै नाममा रहेको जग्गालाई २०४२ सालतिर आएको सर्भे नापीको बेलामा मन्दिरका तत्कालीन पुजारी केशवप्रसाद ढकालले साढे १२ धुर जग्गा आफ्ना नाममा नपाएर धनीपूर्जा लिएका थिए । 

मन्दिर व्यवस्थापन समितिले पछि सो कुरा थाहा पाएको हुँदा समितिले मन्दिरको जग्गा फिर्ता लिन कार्वाही अघि बढाएको थियो ।

समितिको पत्रका आधारमा मालपोत कार्यालय विराटनगरले सो जग्गा मन्दिरकै नाममा कायम गरिदिएको थियो । 
पुजारी केशवप्रसाद ढकालको निधनपछि उनकी श्रीमती उमादेवी ढकालको नाममा जग्गा नामसारी गरी बिक्री गर्न खोज्दा रहस्य खुलेको थियो । 

मालपोत कार्यालयको निर्णयविरूद्ध उमादेवी ढकालले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेकोमा जिल्ला अदालतले जग्गा मन्दिरकै हुने फैसला गरेको थियो ।

सो फैसलाको विरूद्धमा उमादेवी ढकालले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा मन्दिरका तर्फबाट वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, अधिवक्ताहरू देवेन्द्र कोइराला, विश्वराज भट्टराई र कृष्ण निरौलाले बहस गरेका थिए ।

ढकालको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय चुडामणि आचार्य र शान्तिराम भण्डारी, अधिवक्ता राम भण्डारी आदिले बहस गरेका थिए ।

विराटनगरको अर्को चर्चित धार्मिकस्थल संसारीमाई मन्दिरले पनि अदालतबाट मुद्दा जितेको छ ।

सर्वोच्च अदालतको गत भदौ २४ गतेको फैसलाले मोरङ जिल्ला अदालत, उच्च अदालत विराटनगरको फैसलालाई सदर गर्दै संसारीमाईस्थानलाई मुद्दा जिताएको थियो ।

त्यसको डेढ महिनापछि यो अर्को ऐतिहासिक फैसला आएको हो ।

View : 190

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved