Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

देशलाई ‘नन् करप्ट’ राष्ट्रका रूपमा चिनाउन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

उद्‌घोष संवाददाता
२२ भदौ २०८१, शनिवार

Advertisement

काठमाडौँ, २२ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती  सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन्।

एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

“तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् ।

तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् ।

भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस् ।’’,

प्रधानमन्त्री ओलीले भने, “म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि त्यसो गर्न दिन्नँ ।

नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए ।

उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए ।

उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बतए ।

उनले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने बताए ।

“अहिले नियोजित रुपमा अराजकता सृजना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ ।

वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन ।’’

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए । रासस

View : 291

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved