Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

महिना दिनमा दुईपटक भइसक्यो उस्तै दुर्घटना

बाटो माथिबाटै बग्छ खोला, ज्यान लिने धराप बन्यो दूधपानी खहरे

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । उही ठाउँ, उस्तै प्रकृतिको दुर्घटना । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दूधपानी खोला तर्ने क्रममा फेरि एउटा दुःखद् घटना भएको छ । यो घटना शनिबार बिहान १० बजेतिरको हो ।

धरान–धनकुटा सडकखण्डअन्तर्गत बराहक्षेत्र नगरपालिका–१ स्थित दूधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान् बेपत्ता भए भने उनकी श्रीमतीको घाइते अवस्थामा उद्धार भएको छ । 

बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकलमा सवार सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी र उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी काठमाडौंबाट धनकुटातर्फ आउँदै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

घटनामा मनिष पञ्चकोटी बेपत्ता छन्  भने उनकी श्रीमती घाइते भइ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् ।  

घटनापछि स्थानीयवासीसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । 

यही ठाउँमा साउन अन्तिममा यस्तै घटना भएको थियो । धरान–१६ का व्यवसायी जीवन राई र उनकी छोरी १८ वर्षीया अनिता बुलेट मोटरसाइकलमा चढेर बराहक्षेत्र जाँदै थिए ।

त्यस क्रममा दूधपानी भन्ने खहरे खोलाबाट मोटरसाइकल चढेरै तर्ने क्रममा मोटरसाइकलसँगै उनीहरूलाई खोलाले बगाएको थियो ।

उनीहरूलाई बगाएको खहरे नजिकै गएर सप्तकोशीमा मिसिन्छ । उनीहरूलाई बगाएको ठाउँबाट ६० मिटर दक्षिणमा सप्तकोशी नदीको भंगालो छ । 

त्यसक्रममा बुबा जीवन पौडेर बाहिर निस्के पनि अनिता भने बेपत्ता बनेकी थिइन् । घटनाको तीन दिनपछि अनिताको शव फेला परेको थियो । 

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार यी दुवै घटना एकै ठाउँ भएको हो । 

‘त्यहाँ बाटो माथिबाटै पानी बग्छ’, उनले भने ‘बाइकले पानीको बहाव थेग्न नसकेर यी दुवै घटना भएका हुन् ।’ 

शनिबार बेपत्ता बनेका पञ्चकोटीको खोजी जारी रहे पनि अहिलेसम्म नभेटिएको र खोजी जारी रहेको उनले बताए ।

View : 352

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved