विराटनगर । आँखाको उपचारका लागि परिचित विराटनगर आँखा अस्पताल अहिले कानसम्बन्धी रोग उपचारको पनि महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
पछिल्ला वर्षहरूमा कानका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि अस्पतालमा कान परीक्षण तथा उपचार सेवा विस्तार गरिएको छ ।
अस्पताल प्रबन्धक कुमार पृथुका अनुसार अस्पतालमा प्रत्येक वर्ष ३० हजारभन्दा बढी व्यक्तिले कानको परीक्षण गराउने गरेका छन् ।
अस्पतालले विभिन्न समुदाय तथा ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको छ ।
ती शिविरमा प्रारम्भिक परीक्षण गरिएका बिरामीमध्ये करिब ३० प्रतिशतलाई थप उपचारका लागि अस्पतालमै ल्याइने गरिएको उनले बताए ।
अस्पतालले सन् २०१३ देखि कान उपचार सेवा सुरु गरेको हो ।
आँखाका बिरामीको तुलनामा संख्या कम भए पनि कानसम्बन्धी समस्या भएका बिरामी उल्लेख्य मात्रामा आउने गरेको पृथुको भनाइ छ । उनका अनुसार समुदायमा कान रोगको अवस्था अपेक्षाभन्दा गम्भीर देखिएको छ ।
‘हामीले सञ्चालन गरेका शिविरहरूमा धेरै मानिसमा लामो समयदेखि कान पाक्ने, सुन्ने शक्ति घट्ने, कान बज्ने तथा संक्रमणका समस्या देखिएका छन्,’ पृथुले भने, ‘विशेषगरी समयमै उपचार नगर्दा समस्या जटिल बन्दै गएको पाइन्छ ।’
विशेषज्ञहरूका अनुसार अहिले युवापुस्तामा उच्च ध्वनिको असर तीव्र रूपमा देखिन थालेको छ ।
डिजे, डिस्को तथा अत्यधिक ठूलो आवाजमा संगीत सुन्ने बानीका कारण श्रवण शक्ति कमजोर हुँदै गएको अस्पतालका कान रोग विशेषज्ञ डा. रविन आचार्य बताउँछन् ।
लामो समयसम्म एयरफोन जस्ता साधन प्रयोग गरेर चर्को आवाजमा गीत सुन्नाले कानको भित्री नसामा असर पुग्ने र स्थायी रूपमा सुन्ने क्षमता घट्न सक्ने जोखिम रहने चिकित्सकहरूको चेतावनी छ ।
डा. आचार्यका अनुसार बालबालिकादेखि वृद्धसम्ममा देखिने प्रमुख समस्यामा कान पाक्ने, कान दुख्ने, कानमा आवाज आउने, श्रवण शक्ति कम हुनु, संक्रमण तथा अत्यधिक मैलो जम्नु पर्दछन् ।
चिसो मौसम, धुलो–धुँवा, अस्वच्छ वातावरण तथा कान कोट्याउने बानीले पनि संक्रमण बढाउने उनी बताउँछन् ।
डा.आचार्य कान स्वस्थ राख्न केही सावधानी अपनाउन सुझाव दिन्छन् । अत्यधिक ठूलो आवाजबाट टाढा रहने, लामो समयसम्म इयरफोन प्रयोग नगर्ने, कानमा जथाभावी वस्तु नहाल्ने, संक्रमण देखिए तुरुन्त उपचार गराउने तथा नियमित परीक्षण गराउने बानी आवश्यक रहेको उनको भनाइ छ ।
विशेषगरी बालबालिकामा सुन्ने समस्या समयमै पहिचान गर्न सके भाषा विकास र पढाइमा हुने असरसमेत कम गर्न सकिने अस्पताल प्रबन्धक कुमार पृथु बताउँछन् ।
अस्पतालले आगामी दिनमा समुदायस्तरमा थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताए ।
View : 1070
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved