विराटनगर । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएर मेयरको मनोमानीमा ‘ब्रेक’ लगाइदिएको छ ।
कुनै न कुनै विवाद निम्त्याएर त्यसैमा केन्द्रित भइरहने धरानका मेयर हर्क साम्पाङले यसपटक कार्यवाहक मेयर तोक्ने क्रममा फेरि विवाद निम्त्याएका थिए । त्यसो त मेयर र नगरका अरू जनप्रतिनिधिबीच धरानमा सधैं विवाद भइरहेकै हुन्छ । यही विवादले कार्यपालिका बैठक पटकपटक अवरूद्ध हुने, बजेट र नीति कार्यक्रम कहिल्यै समयमा नआउने भइरहेको छ ।
यसबाहेक मेयरले आफूखुसी निर्णय गर्ने र अरू जनप्रतिनिधिले त्यसको विरोध गर्ने, नाराबाजी र जुलुश भइरहनु धरानको नियति नै बनिसकेका बेला मेयरले जानाजान कार्यवाहकको विवाद निम्त्याएका हुन् । मेयरको अनुपस्थितिमा मेयरले गर्ने सबै काम उपमेयरले गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मेयरले भने उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएका थिए ।
धरानमा मेयरबाट कानुन पालनाको अपेक्षा गर्नु नै व्यर्थ भइसकेको वडाध्यक्षहरू बताउँछन् ।
‘उहाँ धरान बनाउने उद्देश्यले होइन, धरानलाई विवादैविवादको भुंग्रोमा जाकेर रमाउन मेयर बन्नुभएको घटनाक्रमले देखाइसकेको छ’, धरानका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले भने ‘हरेक हप्ता, हरेक महिना नयाँ विवाद, नयाँ झमेला निकाल्नु र धरानलाई त्यसैमा रूमलिन बाध्य पार्नु उहाँको विशेषता हो ।’
आइतबार अदालतले अल्पकालीन आदेश दिँदै वडाध्यक्षलाई कार्यावाहक मेयरको जिम्मेवारी दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई असोज २८ देखि आफू अनुपस्थित रहुन्जेलसम्म कार्यवाहक मेयरको रूपमा काम गर्न मेयर साम्पाङले असोज २३ मा पत्राचार गरेका थिए । साम्पाङ असोज २८ मा बेलायत गएका छन् ।
उपमेयर नगरभित्रै हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको कदमविरूद्ध कात्तिक ४ मा उपमेयर अइन्द्रविक्रम बेघा अदालत गएका थिए ।
उत्प्रेषणयुक्त परमादेश माग्दै अदालत गएका उपमेयर बेघाको रिटमाथि आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयरको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले कात्तिक ६ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
स्वतन्त्र रूपमा मेयरमा जितेका हर्क साम्पाङ र माओवादीबाट उपमेयर जितेका बेघाबीच करिब ८ महिनायता आपसी सम्बन्ध बिग्रिएको छ । सुरूको डेढ वर्षको अवधिमा मेयर र उपमेयर दुवै जोडा बाँधिएर काममा लागेको बताउने उनीहरू पछिल्लो समय कार्यपालिका बैठकमा भनाभनमै उत्रने, सामाजिक सञ्जालमा एकअर्काविरूद्ध लेखालेख गर्ने गर्दै आएका छन् ।
मेयर बनेपछि दलहरूलाई निषेध गर्न खोजेको भन्दै राजनीतिक दलहरूले मेयरको आलोचना गर्दै आएका छन् । मेयरको शैलीलाई निशर्त साथ दिएको भन्दै दलहरूले उपमेयरको पनि आलोचना गर्दै आएका थिए । तर, आफूमाथि पनि मेयरले सामाजिक सञ्जालमार्फत फायर खोलेपछि उपमेयर बेघा पनि मेयरसँग बिच्किएका हुन् ।
गएको पुसमा मेयर साम्पाङले उपमेयरलाई लक्षित गर्दै फेसबुकमा ‘विषालु मन भएको मान्छे’ भनेका थिए । त्यसपछि उपमेयर बेघाले कार्यपालिका बैठकमै प्रतिवाद गरेका थिए । त्यही तुष पालिरहेका मेयरले पछिल्लो समय विदेश यात्रामा निस्कनुअघि आफ्नो नातेदारसमेत पर्ने वडाध्यक्षलाई कार्यवाहक दिएपछि उपमेयर झनै चिढिएका थिए । मेयरले ऐन कानुन विपरीत काम गरेको भन्दै उनी अदालत गएका हुन् ।
उच्च अदालतले आइतबार गरेको आदेशमा ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को देहाय (क) को देहाय १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च.नं. २३२८ मिति २०८१– ६– २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको’ उल्लेख छ ।
View : 92
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved