विराटनगर । सामाजिक विकास मन्त्रालयले कोशी प्रदेशका १० जना महिला उद्यमीलाई सम्मानित गरेको छ ।
उद्यमशीलता प्रवद्र्धन गर्ने ती महिला उद्यमीहरूलाई मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जनही ६५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन् ।
सम्मानित हुनेहरूमा झापाको शिवसताक्षी नगरपालिका–११ की मौरीपालक देवकुमारी ओली, इलामको सूर्योदय नगरपालिका–१ की फूल नर्सरी व्यवसायी लासाङ तामाङ, इटहरी उपमहानगरपालिका–१० की अमृता च्याउ उद्योगकी सञ्चालक अमृता श्रेष्ठ र भोजपुर नगरपालिका–५ स्थित प्रतीक्षा कृषि तथा पशुपक्षी फर्मकी सञ्चालक प्रतीक्षा श्रेष्ठ रहेका छन् ।
यसैगरि विराटनगर महानगरपालिका–४ मा रहेको बराह हर्बल उद्योगकी सञ्चालक अम्बिका भण्डारी र खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ की खिना ढाका कपडा उद्योगकी सञ्चालक खिना विश्वकर्मालाई पनि सम्मान गरिएको छ ।
मन्त्रालयले चालु आर्थिक बर्षको वार्षिक कार्यक्रम अन्तरगत ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–२ स्थित कञ्चन सिलाई कटाई प्रशिक्षण केन्द्रकी कोपिला श्रेष्ठ, धनकुटाको पाख्रिबास नगरपालिका–१० स्थित निशा एकीकृत कृषि तथा पशुपक्षी फर्मकी सञ्चालक देवीमाया थापा, ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ न्यु सौन्दर्य ब्यूटीपार्लर सञ्चालिका सितला श्रेष्ठ र पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ मा रहेको चेसुङ एकीकृत पशुपक्षी तथा कृषि फर्म प्रालिकी सञ्चालिका कृतिमाया चेम्जोङलाई सम्मानित गरिएको जनाइएको छ ।
View : 152
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved