कांग्रेस कोशी प्रदेश भेला
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा पार्र्टी नेतृत्व सम्हालेपछि पहिलोपटक सोमबार विराटनगर उत्रदा कांग्रेसभित्र चुलिदै आएको दूरी, असहजता र संशयको शंका जिवितै थियो ।
खासगरी नेता डा. शेखर कोइराला अनि पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूको उपस्थिति र सम्भावित अभिव्यक्तिलाई लिएर कार्यकर्तामाझ संशय थियो ।
यद्यपि सभापति थापाको आगमनपछिको कोशी प्रदेशस्तरीय चुनावी भेलाबाट कांग्रेस शीर्ष नेताहरूले पार्टी एकताबद्ध रहेको सन्देश मात्रै दिएनन्, गगन नेतृत्वमा आगामी सरकार बनाउने घोषणा गरेर पार्टीको विशेष महाधिवेशनपछि निर्वाचित नयाँ समितिको निर्णयलाई अनुमोदन पनि गरेका छन् ।
डा शेखर कोइराला, विजयकुमार गच्छदार, भीष्मराज आङ्देम्बे, ज्ञानेन्द्रबहादुर कार्कीसहितका शीर्ष नेताहरू एकैसाथ उभिएर सभापति थापालाई स्वागत मात्रै गरेनन्, पार्टीमा कुनै विवाद र समस्या नभएको घोषणासमेत गरेका छन् ।
खासगरी थापा र कोइरालाले मञ्च साझा गर्ने हुन् कि होइनन् भन्ने अड्कलबाजीबीच कोइरालाको उपस्थितिले मात्रै होइन, सभापति थापालाई स्वागत गरेको दृश्यले कांग्रेस एकताबद्ध रहेको सन्देश सार्वजनिक रूपमै प्रवाह ग¥यो । डा. कोइरालाले मञ्चबाटै सभापति थापाको सफल कार्यकालको कामनासमेत गरे ।
कोशी प्रदेश समितिले आयोजना गरेको निर्वाचन लक्षित भेलामा सभापति थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता र उम्मेदवारहरूको बाक्लो उपस्थिति थियो ।
सभापति थापा मञ्चमा उक्लिदा डा शेखर कोइरालासहितका नेताहरूले उठेर स्वागत गरे, माला लगाइदिए र हात मिलाएका थिए ।
सभापति थापाले पनि चुनावमा उम्मेदवारी दिएका डा शेखर कोइराला, विजयकुमार गच्छदारसहितका उम्मेदवारहरूलाई माला लगाइदिएका थिए ।
१४औं महाधिवेशनमा एउटै धारमा उभिएका गगन थापा र शेखर कोइरालाबीच विशेष महाधिवेशनको प्रक्रियापछि राजनीतिक दूरी बढेको चर्चा हुदै आएको थियो । यही पृष्ठभूमिमा सोमबार विराटनगरमा उनीहरू पहिलोपटक एउटै मञ्चमा देखिएर एकताको सन्देश दिएका हुन् ।
देउवा समूहका नेताहरू गच्छदार, कार्की, आङदेङ्बेसहितका नेताहरूले सभापति थापाको नेतृत्वमा नयाँ सरकार बनाउने र अघि बढ्ने घोषणा पनि गरेका थिए । छोटो बोलेका शेखरले पार्टी एकताबद्ध बनेर अघि बढेको उल्लेख गरेका थिए ।
सभापति थापाले लामो सम्बोधन गरे । उनको भाषण चुनावी नाराभन्दा पनि आगामी पाच वर्षको राजनीतिक मार्गचित्रमा केन्द्रित थियो ।
‘फागुन २१ पछिको पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरूद्ध महासङ्ग्राम हुनेछ’ उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्छु भनेर भ्रष्टाचार नियन्त्रण हुँदैन । विगतमा संस्थाहरूलाई पङ्गु बनाएका छौं । अब ती संस्थाहरूलाई बलियो बनाउँछौं ।’
उनले विधिको शासनमा सम्झौता नहुने स्पष्ट सन्देश दिए । ‘कोही सत्ताको नजिक छ, लोकप्रिय छ भनेर कानुन फरक हुँदैन,’ थापाले भने, ‘कानुन सबैका लागि बराबर हुनुपर्छ ।’ सभापति थापाले यो निर्वाचनमा कांग्रेसको पहिलो प्रतिबद्धता संविधानको निरन्तरता भएको बताए ।
‘यो संविधान धेरै संघर्ष र उतारचढावपछि आएको हो,’ उनले भने, ‘यसलाई तलमाथि गर्दा ठूलो मूल्य चुकाउनु पर्छ ।’
संविधानभित्र सुधार आवश्यक भए पनि त्यो संवाद र सहमतिबाट मात्रै सम्भव हुने उनको जोड थियो ।
थापाले भदौ २३ र २४ का घटनालाई केवल आकस्मिक हिंसा नभई नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरे । ती घटनापछि देखिएका राजनीतिक प्रतिक्रियालाई उनले दुई प्रवृत्तिमा विभाजन गरेर हेरे ।
‘एउटा डिनायलको प्रवृत्ति देखियो नागरिकमा असन्तुष्टि नै छैन भन्ने, सबैलाई षड्यन्त्र र घुसपैठ भन्ने,’ उनले भने, ‘अर्को डिभिडेण्ड खाने प्रवृत्ति नौजवानको ज्यान गएको घटनाबाट राजनीतिक मुनाफा खोज्ने । कांग्रेस यी दुवै प्रवृत्तिको खिलाफमा छ । कांग्रेस न अस्वीकार गर्छ, न मुनाफा खान्छ । कांग्रेसको क्यारेक्टर भनेको राष्ट्रिय ड्युटी पूरा गर्नु हो ।’
उनका अनुसार ती घटनालाई गहिराइमा हेर्दा एउटा स्पष्ट सन्देश देखिन्छ ।
‘सडकमा आएका नौजवान मात्र होइनन्, घरभित्र बसेका नागरिक पनि त्यो असन्तुष्टिमा सहभागी थिए, उनले भने, ‘त्यो असन्तुष्टिलाई सुन्ने, बुझ्ने र जिम्मेवारी स्वीकार गर्ने साहस कांग्रेससँग छ । कायरले कमजोरी स्वीकार गर्दैन । साहसीले स्वीकार गर्छ । हामी ऐना पुछेर सबै ठीक भयो भन्दैनौं । अनुहारका दाग मेटेर अगाडि बढ्न चाहन्छौं ।’
सभापति थापाले कांग्रेसको इतिहास नै देश सम्हाल्ने निर्णयहरूको इतिहास भएको दाबी गरे ।
‘२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह ज्यान हातमा लिएर फर्कदा आफ्नो पार्टी होइन, नेपालको अखण्डता पहिलो प्राथमिकता थियो,’ उनले स्मरण गरे ‘माओवादीकालमा सबैभन्दा बढी क्षति कांग्रेसले बेहोरेको थियो, तर देशलाई हिंसाबाट बाहिर निकाल्ने ड्युटी हामीले पूरा गर्यौं ।२०७२ सालमा कांग्रेसले आफ्नो क्षति बेहोरेर भए पनि राष्ट्रिय सहमति रोज्यो ।’
कांग्रेसलाई ‘पुरानो फालेर नयाँ ल्याउने’ अवधारणासँग नजोड्न उनले आग्रह गरे । ‘कांग्रेस पुरानो पनि हो, नयाँ पनि हो,’ उनले भने, ‘हामी यसलाई चेन्ज र कन्टिन्युटी भन्छौं ।’ उनका अनुसार कांग्रेसको सबैभन्दा ठूलो शक्ति समाजका फरक–फरक समूहलाई जोड्ने क्षमता हो ।
‘पुस्ता–पुस्तालाई भिडाउन सजिलो हुन्छ,’ उनले भने, ‘तर सबैलाई मिलाएर अघि बढाउनु गाह्रो काम हो । कांग्रेससँंग त्यो क्यारेक्टर छ ।’
सभापति थापाले नेता–कार्यकर्तालाई कोठाभित्र सीमित नहुन आग्रह गरे ।
‘सामाजिक सञ्जाल माध्यम हो, तर सबै कुरा होइन,’ उनले भने, ‘घर–घर पुगेर संवाद गर्नुस् । आधा घण्टा चिया खाएर कुरा गर्दा, कांग्रेसलाई भोट दिन्न भनेर बसेको मान्छे पनि फर्किन्छ ।’
View : 162
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved