सुनसरी । सुनसरी जिल्लाको दक्षिणी गाउँपालिका देवानगञ्जबाट फरक धर्म मान्ने १५ वर्षीया किशोरीलाई लिएर १८ वर्षीय किशोर फरार भएपछि आइतबार बेलुका तनाव भएको छ ।
केही दिनअघि देवानगञ्ज–२ स्थित बजारका किशोरले किशोरीलाई टेम्पोमा चढाएर फरार भएका थिए । बालिकालाई अपहरण गरेको आरोप लगाउँदै स्थानीयले बेलुका सडकमा टायर बालेर आवागमन अवरुद्ध पारेका थिए । दुई जना फरार भएको घटनाले धार्मिक हिंसा हुन सक्ने देखेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय इनरुवाबाट मद्दतका लागि गएको प्रहरी र स्थानीय प्रहरीले सडकको अवरोध हटाएका छन् । उनीहरुले बालिकालाई घरसम्म ल्याएर छाड्नु पर्ने माग राखेर प्रदर्शन गरेका थिए । किशोरीको परिवारले बालिकालाई अपहरण गरेको जनाउँदै प्रहरीमा ४ जनाबिरुद्ध जाहेरी दिएको छ ।
जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरु दुई जना फरार छन् । बालिकालाई टेम्पोमा चढाउन सहयोग गर्नेहरु बिरुद्ध पीडित परिवारले जाहेरी दिएको थियो । उनीहरु भागेर भारततर्फ गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
भारतीय सीमावर्ती देवानगञ्ज तथा आसपासको क्षेत्रमा प्रहरीले खोजतलास जारी राखेको बताएको छ । स्थानीय केहीले दुई बालबालिका प्रेम सम्बन्धमा रहेकाले सहमतिमा भागेको बताएका छन् भनें केहीले अपहरणको आरोप लगाएका छन् ।
केटा पक्षका आफन्तले दुबैलाई खोजेर बालिकालाई परिवारको जिम्मा लगाउने आश्वासन दिएको बताइएको छ ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved