विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत मुख्यमन्त्री कार्कीले आदिवासी जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको बताए । सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले भने, ‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’
दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण तथा अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास लिएको मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
कोशी प्रदेश आदिवासी जनजातिहरूको ठूलो जनसंख्या भएको प्रदेश भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको बताए ।
खुवालुङदेखि माङ्सेबुङलगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ बाट विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । दिवसलाई आदिवासी तथा जनजातीहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् ।
विश्व आदिवासी जनजाती दिवसको अवसरमा कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिइसकेको छ ।
View : 137
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved