Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार हत्या र मिडियामाथि आक्रमणको विराटनगरमा विरोध (फोटो)

उद्‌घोष सम्वाददाता
१६ चैत २०८१, शनिवार

विराटनगर । पत्रकार हत्या र संचार माध्यमहरूमाथिको आक्रमणप्रति पत्रकारहरूले विरोध जनाएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवस मनाउने तयारीमा रहेका पत्रकारहरूले शुक्रबार पूर्व राजावादी समुहबाट काठमाडौंमा एक पत्रकारसहित आधा दर्जन संचार माध्यम लक्षित आक्रमणको विरोधमा विराटनगरमा प्रदर्शन गरेका हुन् ।

आन्दोलनका क्रममा पूर्व राजाका समर्थकहरूको उत्तेजित समुहले एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकले रिपोर्टिङ गरिरहेको घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो ।

घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न महासंघले माग गरेको छ । नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा शनिबार महासंघको कार्यालय कलेज रोडबाट निकालिएको शान्तिपूर्ण र्‍याली ट्राफिक चोकमा कोणसभामा परिणत भएको थियो ।

महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकार रजकको हत्यामा पूर्व राजावादी समुहको प्रत्यक्ष संलग्नता रहेको दाबी गरे । उनले संलग्नहरूलाई तत्कालै पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरे ।

साथै पत्रकारहरूले स्वतन्त्रपूर्वक समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चित गर्दै पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । 

महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले आन्दोलनका नाममा पत्रकारलाई जिउँदै आगोमा जलाउने कार्य भएको भन्दै घटनाको भत्र्सना गरिन् । उनले रिपोर्टिङ गरिरहेको पत्रकारलाई बाहिर निस्किनै नदिएर हत्या गरिएको भन्दै विरोध जनाइन् । 

पत्रकार रजकको हत्यापछि महासंघले देशभरी आन्दोलनको तयारी अघि बढाएको छ । महासंघले आजै केन्द्रीय समितिको बैठक बोलाइसकेको जनाइएको छ । पत्रकार रजकको हत्याको विरोधमा महासंघ केन्द्रीय समितिले शनिबार विहान काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 

पत्रकार रजकको न्यायका निम्ति पत्रकारहरूले आन्दोलनलाई निर्णायक बनाउने घोषणा गरेका छन् । उनीहरुले पत्रकार रजकको हत्यारालाई कारबाही गर्न, सञ्चार माध्यममाथि भएका आक्रमण बन्द गर्न र पत्रकारहरूको पेशागत सुरक्षाको पूर्णरुपमा ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved