विराटनगर । थारु समुदायको हकहितका निम्ति काम गर्ने संस्था थारु कल्याणकारिणी सभा,(थाकस) मोरङको नेतृत्व विवाद टुंगिएको दाबी गरिएको छ ।
थाकस मोरङको प्रदीपकुमार विश्वास पक्षले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी नेतृत्व विवाद टुंगिएको बताएको हो ।
नेतृत्व विवादको विषयमा परेको मुद्दामा जिल्ला अदालत मोरङले प्रदीपकुमार भगतको दाबी नपुगेको फैसला सुनाएको विश्वास पक्षले जानकारी दिएको छ ।
अदालतको सो फैसलासँगै थाकस मोरङमा लामो समयदेखिको नेतृत्व विवाद टुंगिएको थाकस मोरङका सभापति विश्वासले बताए ।
सो संस्थाको मोरङ अध्यक्षमा विराटनगर–१ का प्रदीपकुमार भगत र बुढीगंगा गाउँपालिका–३ का प्रदीपकुमार विश्वासबीच आधिकारिक सभापतिको विषयमा विवाद थियो ।
भगतले आफू संस्थापन पक्षको आधिकारिक सभापति रहेको दाबी गर्दै आएका छन् भने विश्वासले २०८० चैत ७ गते भएको निर्वाचनबाट आफू निर्वाचित भएको दाबी गर्दै आएका छन् ।
भगतले निर्वाचन अधिकृत जयराम पंजियार र विश्वासले मिलेमतोमा कीर्ते जालसाजी गरी निर्वाचन गराएको दाबी गर्दै आएका छन् ।
सोे विवादको क्रममा भगतले आफू सभापति रहेको दाबीसहित जिल्ला अदालत मोरङमा २०८० पुस २६ गते कीर्ते जालसाज मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अदालतले डेढ वर्षपछि २०८२ असार ८ गते विश्वासको पक्षमा फैसला सुनाएको हो ।
भगतले भने कीर्ते जालसाजको मुद्दा हालेकोमा आफ्नो पक्षमा फैसला नआएको स्वीकार गरे । यद्यपि विश्वासले आफू सभापति भएको दाबी गर्दै अदालतमा दिएको अर्को जालसाज मुद्दामा उनको पक्षमा समेत फैसला नआएकाले आफू नै वर्तमान अध्यक्ष रहेको दाबी गरे ।
लामो समयको विवाद र मुद्दा मामिलापछि पनि विश्वास र भगत पक्षले एक अर्कोलाई स्वीकार नगरेकाले थाकस मोरङको विवाद थप लम्बिने देखिन्छ ।
आधिकारिकताको विवादका कारण संस्थाको नियमित गतिविधि प्रभावित हुनुका साथै दुई पक्षबीच आरोप प्रत्यारोपको लहर चलेको छ भने विराटनगरस्थित थाकस भवनमा तालाबन्दी त कहिले विरोध लगायतका कार्यक्रम समेत निरन्तर हुँदै आएको थियो ।
View : 497
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved