भागबन्डामा अल्झेको कांग्रेस
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक । फाइल तस्वीर
विराटनगर । नयाँ सत्ता सहयात्री नेकपा एमालेसँग कोशी सरकार बारेको भागबन्डा सहजै टुंग्याएको कांग्रेसलाई पार्टीभित्रैको भागबन्डा भने टाउको दुखाइको विषय बनेको छ । कोशी सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाउने क्रममा गुटगत सन्तुलन मिलाउन हम्मे पर्दा कांग्रेस आइतबारसम्म पनि अनिर्णयकै अवस्थामा थियो ।
पार्टीको यस्तो अनिर्णयको अवस्थाले कोशीका कांग्रेस नेताहरूलाई पनि अन्योलग्रस्त तुल्याएको छ । कोशी प्रदेशसभाका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले शनिबार उद्घोषसँगको कुराकानीमा ठोकुवा गरेका थिए ‘सोमबारसम्ममा कांग्रेस कोशी सरकारमा सहभागी हुन्छ । त्यस बेलासम्ममा सबै कुरा टुंगो लाग्छ ।’
आइतबार साँझ उद्घोषले पराजुलीलाई उही प्रश्न दोहोर्यायो ‘सोमबार कोशी सरकारमा कांग्रेस सहभागी बन्छ ?’ शनिबारको कुराकानीमा ‘सोमबारसम्मको’ भाखा दिएका पराजुली यस पटक भने केही अलमलमा परे । उनले चतुर्याइँपूर्ण उत्तर पस्किए, ‘टुंगो लगाउने प्रयास भइरहेको छ । हामी छिट्टै टुंगोमा पुग्छौं ।’
कांग्रेसले मन्त्रीको नाम कहिले टुंग्याउँछ भन्ने द्विविधामा पर्ने पराजुली एक्लो नेता भने होइनन् । केन्द्रदेखि प्रदेशसम्मकै मन्त्रीहरू छान्ने जिम्मा र शक्ति आफैमा खैंचिएका सभापति शेरबहादुर देउवाबाहेक अरु कसैलाई पनि यसबारे थाहा नभएको कांग्रेस नेताहरू बताउँछन् । तर, आइतबार राति अबेरसम्म पनि देउवाले कोशी सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएका छैनन् ।
सभापति देउवाले नाम टुंगो नलगाएकै कारण सोमबार बस्ने पार्टी प्रदेश समितिको बैठक अनिर्णित रहने सम्भावना उच्च भएको छ । ‘नाम टुंगो लगाउनकै लागि भनेर सोमबार ११ बजे विराटनगरमा प्रदेश समिति बैठक बस्दैछ’, पार्टी प्रदेशका महामन्त्री भूपेन्द्र राईले भने ‘तर, भोलि नै नाम फाइनल हुने सम्भावना कम नै छ । भोलि सरकार तथा मन्त्रीहरूबारे सैद्धान्तिक छलफल मात्रै हुन सक्छ ।’
कोशीमा मन्त्रीका दाबेदारसमेत रहेका महामन्त्री राईले यस्तो अनिश्चय व्यत्त गर्नुपछिको मुख्य कारण पार्टी केन्द्रले मन्त्रीको नाम टुंगो नलगाउनु हो । नाम टुंगिन नसक्नु गुटगत भागबन्डा नमिल्नु भएको कांग्रेस सांसदहरू बताउँछन् ।
‘कोशीमा अब हामीले जम्मा चार वटा मन्त्रालय पाउने भयौं तर दाबेदारहरू धेरै छौं,’ कांग्रेस कोशीका एक सांसदले भने, ‘संस्थापन पक्षमै देउवा र सिटौला समूह छ । आफ्नै प्रदेश भनेर कोइराला समूह पनि उत्तिकै सक्रिय छ । भागबन्डा नमिलेकै कारण नाम टुंग्याउन ढिलो भइरहेको छ ।’
देउवा, कृष्णप्रसाद सिटौला र शेखर कोइराला समूहबीच भागबन्डामा कुरा मिल्न नसक्दा कांग्रेसको कोशीमा हुने सत्तारोहण पर धकेलिइरहेको छ । माओवादीले शुक्रबार सरकार छाडेपछि शनिबार नै एमाले र कांग्रेसबीच कोशीमा भागबन्डा टुंगो लागेको थियो ।
कांग्रेसका सांसदहरूले बताए अनुसार एमालेसँगको भागबन्डा मिले पनि पार्टीभित्रकै भागबन्डा मिलाउन ज्यादै सकस भइरहेको छ । ‘आइतबार रातभरि र सोमबार बिहानसम्ममा सभापतिजीले नाम टुंगो लगाए सोमबार नै कांग्रेस प्रदेश सरकारमा सहभागी हुन्छ,’ कांग्रेसका एक सांसदले भने, ‘सभापतिले टुंगो लगाउनुभएन भने केन्द्रकै मुख ताकेर बस्छ प्रदेश समिति ।’ उनका अनुसार प्रदेश दल र पार्टी समिति नेतृत्वले ‘सबै कुरा केन्द्रबाटै तय हुने’ जानकारी दिइसकेको छ ।
View : 79
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved