सुन्दरहरैंचा : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेको जंगलमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ ।
जंगली हात्तीको आत्रमणबाट ५३ वर्षीय कमल माझीको सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर गइरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जंगली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिंड्नेहरूले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । लेटाङ तथा भाउन्ने आसपासमा रातभर दुई दर्जन भन्दा बढी छावा (बच्चा) सहितको जंगली हात्ती देखा परेका थिए । गाउँलेको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाएको स्थानीयले बताएका छन् ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जंगली हात्तीको आंतक बढेको छ । लस्करै हिंड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित छन् । हात्तीका हुलले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको आतंक मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले बताए ।
मोरङ, झापा र सुनसरी जिल्लामा जंगली हात्तीको आक्रमणमा परी एक साताभित्र चार जनाले ज्यान गुमाइसकेका छन् । हात्तीको आहारा जंगलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निसाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन् । हात्तीले धनजनको क्षति पुर्याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष स्थानीयले माग गरेको उल्लेख उनले गरे ।
View : 171
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved