Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

पालैपालो जाइलाग्दै धरानका मेयर: वडाध्यक्षलाई पेल्दा उपमेयर चुप, उपमेयरलाई पेल्दा वडाध्यक्षहरू चुप

उद्घोष सम्वाददाता
३ माघ २०८०, बुधवार

विराटनगर । धरानका मेयरमा निर्वाचित भएको डेढ वर्षे अवधिमा मेयर हर्क साम्पाङको मनोमानी र वडाध्यक्षहरूबीचको सम्बन्ध सधैं तिक्ततापूर्ण रह्यो ।

कार्यपालिका बैठकमा वडाध्यक्षहरूलाई बोल्न नदिएको, बैठक छाडेर जान भन्दै निर्देशन दिएको जस्ता घटनाले मेयर साम्पाङ र वडाध्यक्षहरू यो अवधिमा लगातार भिडिरहे । स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा जितेका साम्पाङलाई यसबीचमा दरिलो साथ दिने एक मात्र जनप्रतिनिधि थिए, उपमेयर अइन्द्रविक्रम बेघा ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर बेघाले मेयरले आफूहरूमाथि अन्याय गर्दा रमिता मात्रै हेरेर बसेको भन्दै वडाध्यक्षहरूले गुनासो गर्दै आएका थिए । १८ महिनाको यो अवधिमा पहिलो पटक वडाध्यक्षहरूले उपमेयरसँग बदला लिने मौका पाएका थिए । उनीहरूले त्यो मौका खेर जान दिएनन् ।

यस्तो अवसर गएको आइतबारको कार्यपालिका बैठकको थियो, जहाँ उपमेयर बेघा  मेयर साम्पाङविरुद्ध पहिलो पटक कडा रुपमा पेश भएका थिए । ‘विषालु मनको मान्छे’ भन्दै मेयर साम्पाङले फेसबुकमा एउटा ‘कन्टेट सेयर’ गरेको थिए । मेयरले आफूलाई विषालु मनको मान्छे भन्न खोजेको उपमेयरको आरोप थियो ।

बैठकमा सोही विषय निकाल्दै उपमेयरले मेयरविरुद्ध फायर खोले । आफूलाई वडाध्यक्षहरूले साथ दिने अपेक्षामा रहेका उपमेयर बेघा त्यसबेला निरीह बने, जब वडाध्यक्षहरूले पनि यसअघि उनले अपनाएको झैं शैली अपनाए ।

उल्टै वडाध्यक्षहरूले मेयर साम्पाङलाई साथ दिंदा उपमेयरको अवरोधका वावजुद कार्यपालिका बैठक अघि बढ्यो, केही निर्णयसहित बैठक सकियो । कार्यपालिका बैठक त सकियो, तर धरानका जनप्रतिनिधिहरूबीचको आपसी तिक्तता सकिएको छैन । बैठकलगत्तै सोमबार र मंगलबार धरानस्थित राजनीतिक दलका नेताहरूले उपमेयर बेघा र वडाध्यक्षहरूलाई राखेर लगातार बैठक गरिरहेका छन् । त्यही बैठकमा वडाध्यक्षहरूले उपमेयरसँग आफूहरूले साटो फेरेको बताएका हुन् । 

‘हिजोसम्म मेयरले हामीलाई अनावश्यक रुपमा पेल्दा उपमेयर मौन बसेर रमिता मात्रै हेर्नुभयो’, कांग्रेस, एमाले, माओवादीका नेताहरूको बैठकमा वडाध्यक्षहरूले भने ‘उहाँलाई मेयरले पेल्दा हामीले किन साथ दिनु भनेर दिएनौं ।’ 

धरान १७ का वडाध्यक्षसमेत रहेका माओवादी नगर अध्यक्ष सूर्यबहादुर भट्टराई, एमाले नेता रवि खनाल लगायतकाले पार्टी नेता र धरानका जनप्रतिनिधिहरूबीच दुई दिनदेखि छलफल चलिरहेको स्वीकार गरे ।

‘धरानको समग्र विकासका लागि अब कसरी अघि बढ्ने भनेर पार्टी नेता, उपमेयर, वडाध्यक्षहरूबीच छलफल भएको हो’, धरानका प्रवक्तासमेत रहेका भट्टराईले भने ‘अन्यथा विषयमा छलफल भएको होइन ।’ उनले सार्वजनिक रुपमा दुई दिनदेखि चलेको छलफलको अन्तर्य बताउन चाहेनन् । तर, छलफलमा सहभागी अन्य वडाध्यक्षहरूले भने ‘अब धरानमा मेयरको मनोमानीविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय भएको’ जानकारी दिए । 

‘कहिले उपमेयरलाई अघि सारेर वडाध्यक्षहरूलाई पेल्ने, कहिले वडाध्यक्षहरूको आड पाएर उपमेयरलाई पेल्ने काम मेयरबाट भएको निष्कर्ष दुई दिनको छलफलबाट निस्केको छ’ एमालेबाट निर्वाचित एक जना वडाध्यक्षले भने ‘यसबीचमा मेयरलाई साथ दिएर गरेको गल्तीप्रति उपमेयरले क्षमायाचना गर्नुभएको छ । अब हामी एकै ठाउँ उभिने भएका छौं ।’ 

ती वडाध्यक्षका अनुसार उपमेयर बेघाले नगरको राम्रो होस् भनेर आफूले मेयरलाई साथ दिएको तर मेयरले कुनै कुरा नसुनेको भन्दै गुनासो गरेका थिए । ‘सबै वडाध्यक्षहरू सन्तुष्ट हुनुहुन्न भन्ने जानकारी मलाई थियो । त्यही भएर सल्लाहबेगर नै मैले मेयरको विपक्षमा मत जाहेर गरेँ । वडाध्यक्षहरूले साथ दिने अपेक्षा थियो, तर साथ पाइएन’, उपमेयरले दलहरूको बैठकमा भने ‘अब त्यस्तो नहोस् । हामी दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरू एक ढिक्का भएर अघि बढौं ।’ 

यसरी उपमेयरसहित बहुसंख्यक वडाध्यक्षहरूको मोर्चाबन्दी हुने अवस्था गएको  आइतबार  बिहानको कार्यपालिका बैठकले निम्त्याएको थियो । त्यसदिनको मेयर  साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको पहिलो पटकको भनाभनले बैठक अघि बढ्न नसकेपछि स्थगित भएको थियो । उपमेयर बेघाको विरोध र असन्तुष्टिको कारण मेयर साम्पाङले बैठक अघि बढाउन नसकेपछि दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका थिए ।

दिउँसो २ बजे बस्ने भनिए पनि झण्डै एक घण्टा ढिला गरी बैठक अघि बढेको थियो । तर, पुन: बैठकमा मेयर साम्पाङले एजेण्डा प्रस्तुत गर्न लाग्दा उपमेयर बेघाले अवरोध जनाउँदै आफूले असहयोग गरेको पुष्टि गर्न माग गरे । उनले बिहानकै कुरा दोहोर्‍याउदै विगत १८ महिनामा के के विषयमा असहयोग गरेँ भनेर मेयर साम्पाङले पुष्टि गर्नुपर्ने बताए । मेयर साम्पाङले भने ‘अहिले जवाफ दिन्न’ भन्दै एजेण्डा प्रस्तुत गर्न लाग्दा पनि उपमेयर बेघाले चाहिँ ‘मैले के मा असहयोग गरे पुष्टि गर्नुस्’ भनिरहे, र बैठकमा कराइरहे ।

बैठक पुन: अवरुद्ध हुने स्थिति बनेपछि वडाअध्यक्षहरूले पनि आफ्नो मत प्रकट गरेका थिए । वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रवीणले मेयर र उपमेयर दुवै कोठामा बसेर कुरा गर्नुपर्ने विषयलाई बैठकमा ल्याएर अवरोध नगर्न भन्दै कड्किए । उनले मेयर साम्पाङलाई बैठक अघि बढाउन आग्रह गरेका थिए । त्यसपछि भने मेयर साम्पाङ बिहानको बैठकमा जस्तो रोकिएनन् । 

उपमेयर बेघाले पुष्टि गर्नुस् भन्दै कराइरहे पनि मेयर साम्पाङले पेलेरै अघि बढे । उपमेयर बेघा कराइरहदा पनि मेयर साम्पाङले एजेण्डाहरू वाचन गरेर बैठक सञ्चालन गरेका थिए । उपमेयर बेघालाई वडाअध्यक्षहरूले पनि साथ दिएनन्, र उनी एक्लिएका थिए । कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो  हटाएकोबारे पनि उनले मेयरको विरोध गरे । तर,

उपमेयरलाई अरुले साथ नदिएपछि त्यसदिन मेयर साम्पाङले सहजै बैठक चलाए । ‘अब त्यसो त हुन्न’, वडाध्यक्षहरूले भने ‘विधि नियम विपरीत मेयर अघि बढ्न खोजे हामी संयुक्त रुपमा प्रतिवादमा उत्रनेछौं । १८ महिनापछि सबै जनप्रतिनिधि एकै ठहरमा पुगेका छौं । अब मेयरको मनोमानी चल्दैन ।’

View : 154

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved