विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई कर्जा दायित्व समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
समितिले सावा, ब्याज तथा हर्जानासहित सम्पूर्ण बक्यौता यथाशीघ्र तिर्न सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।
समितिका अनुसार सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व फछ्र्यौटका लागि ऋणीहरूको सक्रिय सहकार्य आवश्यक रहेको छ ।
यसै सन्दर्भमा सम्बन्धित सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानीकर्तालाई समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
समितिले चेतावनी दिदै कर्जा दायित्व पूरा नगर्ने वा सम्पर्कमा नआउने व्यक्तिहरूलाई आधारभूत सार्वजनिक सेवामा असर पर्न सक्ने जनाएको छ ।
त्यस्तो अवस्थामा धारा, विद्युत् तथा विभिन्न सिफारिस सेवा प्राप्तिमा अवरोध हुन सक्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, कर्जा तिर्न अटेर गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कानुनी कारबाही अन्तर्गत कैद र जरिवानासम्म हुन सक्ने व्यवस्था लागू गरिने समितिले स्पष्ट पारेको छ ।
हाल समितिको प्रत्यक्ष व्यवस्थापनमा २० वटा सहकारी संस्था छन् ।
ती संस्थासँग सम्बन्धित करिब ६२ हजार बचतकर्ताले झन्डै ४० अर्ब रुपैयाँ बराबरको निक्षेप फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन् ।
View : 193
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved