Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पर्यटन क्षेत्रमा देखिएको सङ्कट

‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश तत्काल दिनुपर्नेमा जोड

उद्‌घोष संवाददाता
१२ असोज २०८२, आइतवार

विराटनगर । विश्व पर्यटन दिवस, २०२५ को अवसर पारेर नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) कोशी प्रदेशको पर्यटन तथा हवाई यातायात समितिले पर्यटन क्षेत्रमा देखिएको सङ्कटलाई सम्भावना रूपान्तरण गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

समितिका सभापति भविष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भदौ महिनाको अन्तिम साता नेपालमा घटेको राजनीतिक घटनाक्रमबाट पर्यटन क्षेत्रमा सिर्जित परिस्थितिको विश्लेषण गर्दै निराकरणका लागि रणनीतिक उपायहरूको खोजी गरिएको थियो।

व्यवसायीमाथि निशाना दुखद ं कार्यक्रममा होटल व्यवसायी महासङ्घका उपाध्यक्ष रबिन गौतमले देशमा रोजगारी सिर्जना गरी अर्थतन्त्रमा योगदान गर्ने व्यवसायीहरूलाई आन्दोलनमा निशाना बनाइनु दुखद भएको बताए। उनले पर्यटन व्यवसायीहरूले भोगेका समस्याहरू उल्लेख गर्दै सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।

संकटलाई सम्भावना बदल्ने रणनीति  : सहभागी पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन ढिला गर्न नहुने निष्कर्ष निकाल्दै सङ्कटलाई सम्भावना बदल्नका लागि  'नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पूर्ण सुरक्षित छ' भन्ने सन्देश प्राथमिकताका साथ दिनुपर्नेमा जोड दिए।

उनीहरूले विशेषगरी कोशी पर्यटन वर्ष २०८२ को माध्यमबाट भारतीय शहरहरूमा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरू तथा पर्यटकहरूको सुरक्षासम्बन्धी सकारात्मक सन्देश पुर्‍याउने खालका कार्यक्रमहरू अविलम्ब सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

पर्यटनविज्ञ डा. प्रनिल उपाध्यायले पर्यटनको पुनर्स्थापनाका लागि तत्काल 'नेपाल सुरक्षित छ' भन्ने सन्देश पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए। उनले अहिलेको परिस्थितिमा जति पर्यटकहरू आएका छन्, होटल व्यवसायीहरूले उनीहरूलाई दिने सेवा सुविधा अझ विस्तार गरी आकर्षक टुरिजम प्याकेज निर्माण गर्न सके त्यसले सकारात्मक सन्देश प्रवाह हुने बताए। उनले सङ्कटको बेला अन्य देशहरूमा पर्यटन क्षेत्रको पुनर्स्थापना कसरी गरियो भन्ने दृष्टान्तहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा अष्ट्रेलियाका पर्यटन सङ्कट विशेषज्ञ  डा. डेभिड विर म्यान सँग पर्यटन पुनर्स्थापनाका सम्बन्धमा भिडियोमार्फत अनुभव आदानप्रदान गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

View : 359

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved