Biratnagar, Morang, Nepal
१ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९-८० मा दुई खर्ब दुई अर्ब सात करोड संकलन भएकोमा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको उनले बताए ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सङ्कलित रकम दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कोषले गत आवमा दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रहेको छ ।

उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउन कोष क्रियाशील रहेको बताए ।

View : 59

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved